कर्मचारीको दशैंः एक दिने टिकादेखि ह्विस्कीको चुस्कीसम्म

  २०७४ असोज १४ गते ७:४०     विकासन्युज

काठमाडौं । दशैं पर्वले सिंगो नेपाली समाजलाई जोड्ने प्रयास गरिरहेको छ । आर्थिक गतिबिधि र चहलपहलले दशैं अब हिन्दुहरुको मात्रै चाड नभएर सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भैरहेको छ । नेपालकै पनि बिभिन्न ठाउँमा दशैं मनाउने तौर तरिका फरक छन् ।

 

यस्तो छ पाँच जना सरकारी कर्मचारीहरुको दशैं योजना

दशैंमा हल्का चुस्कीः निरज गिरी, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड
मेरो मावली पनि काठमाडौंमै छ । ससुराली पनि यतै छ । बुवा आमा सबै जना काठमाडौंमै हुनुहुन्छ । हामी दशैंमा मान्न २० जना जति भेट हुन्छौं । हाम्रो परिवार अझै पनि संयुक्त परिवार नै हो । बुवा आमाको हातबाट टिका र आशिर्वाद लिन्छौं । पुर्णिमाको दिन बाहेक सबै दिन हामी टिका लगाउने र आशिर्वाद दिने काममा व्यस्त हुन्छौं । मलाई सेकुवा साह्रै मन पर्छ । साथी भाई भेट्दा हल्का चुस्की पनि लगाइन्छ । दशैंमा पनि आफन्तजनसँग बसेर एक दुई पेग लगाउँछु । कुन ब्राण्डको पिउने भन्ने त्यस्तो बिशेष रोजाई छैन् ।

टिका एक दिन मात्रै लगाइन्छः राजुरमण पौडेल, निर्देशक, बीमा समिति
यसपालीको दशैं काठमाडौंमै मनाउने हो । नवमीको दिनदेखि मात्रै दशैं सुरु हुन्छ । आमा र दाईको हातबाट टिका लगाउने हो । मेरी छोरी र भतिज विदेशमा छन् । परिवारका बाँकी सदस्य सबै भेला हुन्छौं ।

म तास फिटिक्कै खेल्दिन् । अलि अलि ह्विस्कीको चुस्की लगाउँछु । एक दुई पेग भए पुग्छ । मात्तिने गरि पिउँदिन् । स्पेशल ब्राण्ड पनि छैन् । मासुको आइटम मन पर्छ । बिशेष गरि खसीको मासुमा मेरो रोजाईमा पर्छ ।

हामी एक दिन मात्रै टिका लगाउँछौं । यो पश्चिम नेपालको चलन हो । म काठमाडौं आएको त २० बर्ष भयो तर पनि दशैंको टिका लगाउने चलन भने अझै पनि एक दिन नै कायम छ ।

रक्सी नखाएको डेढ दशक भयोः राजेन्द्र पण्डित, सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक
म फुलपातिको दिन दशैं मान्न पुख्र्याैली घर तनहुँ आएँ । हाम्रो परिवारमा दशैं मनाउन ११ जना जम्मा भएका छौं । बुवा आमाको हातबाट टिका लगाउने हो । हामी दशमीको दिन मात्रै टिका लगाउँछौं । बरु त्यो दिन राती १२ बजेसम्मै टिका लगाउँछौं तर एकादशीबाट टिका लगाउने चलन छैन् । म टिका लगाएर एकादशीकै दिन काठमाडौं फर्कने योजनामा छु ।

मलाई गाउँका उत्पादन मन पर्छ । लोकल खसिको कबाब मलाई मन पर्ने आइटम हो । काँक्रोको अचार भनेपछि हुरुक्कै हुन्छु । रोलरोटी पनि मलाई असाध्यै मन पर्छ । मैले रक्सी नखाएको १७ बर्षपछि भैसक्यो । बरु साथीभाइहरुको समुह पुगेन भने म्यारिज र कल ब्रेक खेल्न भने तयार हुन्छु ।

दशैंमा उत्पात पढ्ने योजना छः प्रकाशभक्त उपाध्याय, सिडिई, रेल विभाग
यसपालीको दशैं काठमाडौंमै मनाइन्छ । मेरो खुट्टामा समस्या छ, आराम गरिरहेको छु, त्यसकारण दशैंमा चितवन झरिन्न । बुवाको हातबाट टिका र आशिर्वाद थापिन्छ । हामी तनहुँबाट चितवन झरेका हौं, त्यसकारण हाम्रो टिका एक दिन मात्रै हुन्छ । टाढाबाट आफन्तलाई मात्रै टिकाको भोली पल्ट पनि टिका लगाइदिन्छौं नत्र दशैंको टिका एक दिन मात्रै लगाउने चलन छ । मलाई कबाव साह्रै मन पर्छ । रक्सी खान्न । तास त मैले जीवनमै समाएको छैन् । यसपाली खुट्टाले साथ दिएको छैन, त्यसैले दशैंमा उत्पात पढ्ने योजना छ । मलाई फुर्सदको समय पढ्न मन लाग्छ । त्यसैले यसपालीको दशैं भनेको पढेरै बिताउने योजना छ । परिवारसँग टिका लगाउने, भेटघाट गर्ने अनि मज्जाले पढेर बस्ने योजना बनाएको छु ।

रक्सी खान्न, ससुराली पनि जान्नः मिनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दुर सञ्चार प्राधिकरण


मेरो घर गोरखा हो । फुलपातिका दिन गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ मा रहेको पुख्र्यौली घर आएँ । बुवासहित हाम्रो घरमा १८ जनाको भेट हुन्छ दशैंमा । श्रीमति र छोरीसहित ३ जना हामी काठमाडौंबाट जान्छौं । बुवाकै हातबाट दशैंको टिका थापिन्छ । म माछा मासुमा खासै रुचि राख्दिन् । दुध, घ्यु, पनिर जस्ता आइटममा अलि बढि नै रुचि छ । म रक्सी पनि खाँदिन र तास, कौडा खोल्ने बानी पनि छैन् । साथी भाईको अनुरोधमा पनि म तास खेल्दिन् ।

ससुराली धनकुटा भएकाले यसपाली दशैंमा ससुराली जाने कार्यक्रम पनि छैन् । टिकाको भोली पल्टै काठमाडौं फर्कन्छु । ससुरालीको पनि काठमाडौंमा घर चैँ छ । पुर्णिमाको दिनसम्ममा ससुरालीबाट कोहि काठमाडौं आउनु भयो भने टिका लगाउन चैँ जान सक्छु । तर दशैंमा धनकुटामा ससुराली जाने कार्यक्रम भने छैन् ।

गोरखा पुगेका बेला त्यहाँ सूचना प्रबिधीको अवस्था, नागरिकको गुनासो र सुलभ तथा गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भन्नेबारे केहि छलफल गर्ने कार्यक्रम पनि बनाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.