सरकारले निर्वाचनलाई प्रतिकुल असर पार्ने काम गरे, बाध्य भएर अर्को कदम चाल्छौं ः उपाध्यक्ष रावल

  २०७४ असोज १८ गते १६:४४     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले भने,‘हामीले अहिले सरकार फेरबदल गर्ने बारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’

साक्षात्कारमा बोल्दै रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने बताए ।

उनले भने,‘तर हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं ।’उनले वर्तमान सरकारले घोषित मिति भित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसको लागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने,‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिर्नको लागि र त्यो अन्यौलता समाप्त पार्नको लागि वामएकताको थालनी गरेका छौँ ।’

रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए । उनले भने,‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरु िवचकै सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला?मलाई त आश्चर्य लागेको छ ।’

उनले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुने भयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने,‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो ।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।

त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्र माथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोहीपनि छैन, त्यसैले यस्तो कुरा वाईयात हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.