२०७४ असोज २० गते १४:१५ विकासन्युज
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि प्रस्तावित कृष्णप्रसाद शर्माको फाइल बीमा समितिमा अड्किएको छ । कम्पनीले एक महिनाअघि शर्मालाई सिईओ नियुक्ती गर्न समिति समक्ष सहमति मागेको थियो ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ अनुसार कुनै पनि बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्नुपूर्व बीमा समितिको सहमति लिनु पर्छ । प्रस्तावित व्यक्तिको शैक्षिक योग्यता र निजको परिश्रमिक लगायत विषयमा समितिले अध्ययन गरी १५ दिन भित्र स्वीकृति दिनुपर्नेछ । तर शर्माको नाम सिफारिस भएको एक महिना बितिसक्दा पनि समितिले स्वीकृति दिएको छैन ।
बीमा समिति स्रोतको अनुसार शर्माको शैक्षिक योग्यता, अनुभवमा समस्या छैन । एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको निर्णय र बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा रहेको अस्पष्टताका कारण बीमा समितिले शर्माको फाइलमा सदर गर्न सकेको छैन ।
संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा २८, उफदफा ४ (ज) मा लेखिएको बुँदा नै शर्माको लागि बाधक बनेको छ । दफा २८, उफदफा ४ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन नसक्ने अवस्थाका बारेमा उल्लेख गरिएको छ । त्यसभित्र (ज) बुँदामा लेखिएको छ –‘समितिको अध्यक्ष वा सदस्य भईसकेको व्यक्ति’ प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन सक्ने छैन ।
शर्मा एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सञ्चालक तथा अध्यक्ष भईसकेका व्यक्ति हुन् । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले कसलाई भन्न खोजिएको हो ? बीमा समिति भित्रै यतिबेला अन्यौलता देखिएको छ ।
उक्त निर्देशिकाको परिभाषमा ‘समिति वा उपसमिति’ भन्नाले यस निर्देशिकाको दफा १४ बमोजिम गठित बीमकको सञ्चालक समितिले आफ्नो काममा सघाउ पुर्याउन गठन गरेको समिति वा उपसमिति सम्झनुपर्छ’ भनेको छ ।
यस विषयमा अस्पष्टता देखिएकोले बीमा समितिको सञ्चालक समितिले नै व्याख्या गर्ने बीमा समिति स्रोतले बतायो । ‘समितिको अध्यक्ष वा सदस्य’ भन्नाले सञ्चालक समितिको अध्यक्ष वा सञ्चालक नै भन्न खोजिएकोले अस्पष्टतालाई व्याख्या गर्दा पनि शर्माको लागि एनएलजी इन्स्योरेन्समा ढोका खुला हुने सम्भावना कम रहेको बीमा समितिका अधिकारीहरु बताउँछन् ।
शर्माको लागि सञ्चालक समितिले प्रस्ताव गरेको पारिश्रमिकमा पनि समस्या उत्पन्न भएको छ । कम्पनीको सबैभन्दा कम पारिश्रमिक खाने कर्मचारीको भन्दा प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुन नहुने व्यवस्था रहेकोमा सो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव गरेकोले बीमा समितिले सीमा भित्र बस्न निर्देशन दिएको छ ।
‘राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भई सफलता पूर्वक संस्था चलाएको व्यक्ति, उहाँको व्यक्तित्व र ख्यातीलाई ध्यानमा राखेर आगामी साधारणसभाबाट अनुमोदन गर्ने गरी उचित पारिश्रमिकको प्रस्ताव गरेको हौं, नियामक निकायले जे निर्देशन दिन्छ, हामी त्यो पालना गछौं’ कम्पनी सञ्चालक समितिका अध्यक्ष विमलप्रसाद वाग्लेले भने ।
शर्मा वाणिज्य बैंकको प्रतिनिधि भएर एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक तथा अध्यक्ष भएको थिए । उनी आफै सोही कम्पनीको सेयरधनी होइनन् । ‘सेयरधनी वा प्रवद्र्धकको हैसियतमा शर्मा अध्यक्ष भएका होइनन्, त्यसैले उनी सो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बन्न योग्य व्यक्ति हुन्, त्यसमा स्वार्थ बाझिएको छैन । तर संस्थागत सुशासन निर्देशिकामा रहेका प्वाल उनको लागि वाधक बन्यो’ बीमा क्षेत्रका एक जानकारले भने ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा धेरै कमजोरी र अस्ष्टता रहेकोले त्यसमा संशोधन जरुरी भएको यस क्षेत्रका अनुवभीहरुले बताउँदै आएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.