२०७४ असोज २२ गते ९:१८ पवन तिमिल्सिना
भक्तपुर । तिहार आउन करिब दुई साता बाकी रहँदा भक्तपुर सुर्यविनायक नगरपालिका स्थित गुण्डुका कृषकहरु मखमली फुल टिप्न र माला गाँस्नमा व्यस्त छन् । घर सजाउन मात्र नभई कुकुर तिहार, गाई पुजादेखि भाइटिकामा समेत तिहारमा फूलै चाहिने भएकाले अहिले यसको अत्याधिक माग छ । यहाँका अधिकांश परिवार फुल बेचेर जिविकोपार्जन गरिरहेका छन् ।
गुण्डु वडा नम्बर ७ का सिता नगरकोटीले तिहारमा सयपत्रीसँगै मखमलीको अत्याधिक माग हुने गरेको र आफ्नो सपरिवार नै फुल टिपेर माला गास्न व्यस्त रहेको बताइन् । गुण्डुमा प्राय सबैले मखमली खेती गरिरहेको उनले जानकारी दिइन् ।
यहाँ तीन घर मिलेर ४ रोपनीबाट सामुहीक रुपमा मखमली खेती गरिरहेका छन् । नगरकोटीले भने आफ्नो १ रोपनी जग्गामा मखमली मात्र रोपेकी छिन् ।
एक रोपनीमा १७/१८०० वटा माला बराबरको फुल उत्पादन हुनेगरेको उनले बताइन् । गत सालभन्दा यसपाली तिहार अलि अघि परेकाले धेरै फुल बेच्न नसक्ने उनले बताइन् । अहिलेसम्म पाँच सय वटा मखमली माला व्यवसायीले लगिसकेको उनले बताइन् ।
करिब ४० बर्ष उमेरकी नगरकोटी फूल खेतीमा लागेको ४-५ वर्ष भयो । कात्तिकमा चाहिने यो फुललाई बैसाखमै रोप्नुपर्छ ।
एउटा मालाको २२ रुपैयाँसम्म लिने गरेको उनले बताइन् । उनले भनिन्, ‘एउटा माला बेच्दा पाँच रुपैयाँमात्र नाफा हुन्छ । खुद्रा किन्दा त्यहि मालाको ५०/६० रुपैयाँसम्म पर्छ । व्यापारीले त्यही माला बेचेर धेरै कमाउछन् ।’
नगरकोटीले दसैं सकिएलगत्तै २ सय वटा माला गासिसकेका छन् । तिहारका दिन असन र कालीमाटी ल्याएर फूल बेच्ने गरेको उनले बताइन् ।
गुण्डुका अर्का किसान मैंया बस्नेतले पनि घरको करेसामा मखमली लगाएकी छिन् । उनले आठ सय वटा माला तयार पारेको बताइन् । उनले माला बेचेर घरको नुन, तेलको जोहो हुने गरेको बताइन् ।
मखमलीसँगै नगरकोटीले सयपत्री पनि लगाइकी छिन् । माग बढेपनि उत्पादन राम्रो नभएकाले सयपत्री कम रोप्ने गरेको उनले बताइन् ।
यो सिजनमा भारतबाट समेत फूल आयात हुनेगरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.