मिर्गौला रोगीलाई १० लाख रुपैयाँ सहयोग

  २०७४ असोज २३ गते १३:१६     विकासन्युज

चितवन । दुवै मिर्गौला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट १० लाख रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको छ । चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब १० लाख रुपैयाँ सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए ।

वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गौला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए ।

३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम १० लाख ४० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए ।

उनको उपचारका लागि पोर्चुगलबाट दुई लाख रुपैयाँ, दक्षिण कोरियाबाट ८० हजार रुपैयाँ, अष्ट्रेलियाबाट दुई पटक गरी ७५ हजार रुपैयाँ, अमेरिकाबाट एक लाख ३५ हजार रुपैयाँ, क्यानडाबाट ४० हजार रुपैयाँतथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो ।

पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.