पौने ४ लाख नेपालीको भान्छामा बायोग्यास प्लान्ट

  २०७४ असोज २६ गते ११:१५     भूमिका तिमल्सिना

काठमाडौं । पौने ४ लाख नेपालीको भान्छामा बायो ग्यास प्लान्ट जडान भएको छ । सरकारले नविकरणिय ऊर्जा अनुदान २०७३ कार्यान्वयनमा ल्याएपछि ३ लाख ८० हजार ४ सय ३२ घरधुरिमा बायोग्यास जडान गरेका हुन् । सो कार्यविधिले ग्रामीण क्षेत्रमा ५० प्रतिशतसम्म अनुदान दिदै आएको छ ।

भान्छाबाट निस्कने फोहोर तथा अन्य घरायसी जैविक वस्तुहरु अधिकतम प्रयोग गरी वातावरण सुधार गर्ने तथा आयातित इन्धनलाई प्रतिस्थापन गर्न निर्धारित डिजाइनको ४ घनमिटर वा सो भन्दा कम क्षमताका बायोग्यास प्लान्टहरुका लागि प्रति घरधुरी अधिकतम १० हजार भन्दा बढी हुनेगरी कुल लागतको अधिकतम ५० प्रतिशत सम्म अनुदान रकम उपलब्ध गराइने वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले जानकारी दिएको छ ।

बायोग्यासको प्रयोग गर्नाले ३० देखि ५० प्रतिशतसम्म दाउराको वचत हुदै आएको छ । यस बायोग्यास उत्पादनमा पहिला नेदरल्याण्डको सहयोग थियो तर हालै आएर जर्मनीले सहयोग गर्दै आएको छ । हालसम्म ३ लाख ८० हजार ४ सय ३२ घरधुरी लाभान्वित भएका छन् । प्रत्येक क्षेत्रका जिल्लाहरुमा गाईवस्तु पाले पछि सरकारले अनुदान दिने केन्द्रले जनाएको छ । यो घरायसी बायोग्यास अनुदान जीजीसी २०४७ को मोडल अन्तर्गत पर्दछ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन् केन्द्रका वरिष्ट अधिकृत कृष्ण चन्द्र पौडेलका अनुसार बायोग्यास प्रयोग गर्नाले क्लोरोफ्लोरो कार्वन तथा कार्वन मोनो अक्साइड लगायतका विषादि युक्त ग्यासबाट बच्न सकिन्छ । उनले भने,‘किचनमा धुवाँ कम हुदा खाना पकाउन महिला मात्र नभएर पुरुष नि अघि सर्ने वातावरण सिर्जना हुन्छ । साथै, वनमा दाउरा लिन जान नपर्ने हुन्छ जसले गर्दा बालबालीकाले शिक्षामा समय व्यतित गर्न पाउँछन् ।’ तातो बढी भएको ठाउँमा यो ग्यास प्रयोग गर्न अझ सहज हुने उनले बताए । साथै, वातावरण प्रदुषण कम हुने हरितगृह प्रदुषण कम हुने उनले बताए ।

सरकारले घरायसी बायोग्यास प्लान्टको लागि क्षेत्रअनुसार हिमाली क्षेत्रका जिल्लाहरुमा २ घनमिटरको लागि २५ हजार, ४ घनमिटरको लागि ३० हजार र ६ वा सो भन्दा बढी लाई ३५ हजार अनुदान दिदै आएको छ । पहाडी क्षेत्रका जिल्लाहरुमा क्रमशः २० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र ३० हजार रुपैयाँ दिएको छ । त्यसैगरी, तराई क्षेत्रका जिल्लाहरुमा २ घनमिटरको लागि १६ हजार, ४ घनमिटरको लागि २० हजार र ६ वा सो भन्दा माथिको प्लान्टको लागि २४ हजार अनुदान दिदै आएको छ । साथै, ६ घनटिर भन्दा माथिको घरायसी प्लान्टको अनुदान रकम यो दरमा आव २०७४/७५ देखि तीन वर्ष सम्म प्रत्येक आवमा वार्षिक ५ प्रतिशतले घट्ने केन्द्रले जानकारी दिएको छ ।

फोहोरबाट उर्जामा आधारित बायोग्यास प्लान्ट अन्तर्गत व्यवसायीक बायोग्यास प्लान्ट सानोमा २० हजार रुपैयाँ, ठुलोमा २५ हजार रुपैयाँ, र ठुलोमा ३० हजार रुपैयाँ अनुदान दिदै आएको छ । त्यसैगरी, पहाडको सानो क्षेत्रमा २४ हजार रुपैयाँ, मध्यममा ३० हजार रुपैयाँ, र ठुलोको लागि ३६ हजार रुपैयाँ अनुदान दिदै आएको छ । सार्वजनीक निकायमा निर्माण गरिने बायोग्यास प्लान्ट तराई क्षेत्रको लागि ४५ हजार रुपैयाँ र पहाडी क्षेत्रको लागि ५४ हजार रुपैयाँ अनुदान दिएको छ ।

त्यसैगरी, नगरपालिकाबाट निष्कने फोहोरबाट बायोग्यास ऊर्जा प्रणाली निर्माण गर्दा तराई क्षेत्रमा २ लाख मा नबढ्ने गरी कुल लागतको ४० प्रतिशतसम्म दिने व्यवस्था छ भने पहाडी क्षेत्रमा २ लाख ४० हजारमा नबढ्ने गरी कुल लागतको ४० प्रतिशत सम्म दिने व्यवस्था छ । १२.५ देखि ३५ घनमिटर सम्मको प्लान्टलाई सानो, ३५ देखि १ सय घनमिटर सम्मको प्लान्टलाई मध्यम र १ सय घनमिटर भन्दा बढी क्षमताको प्लान्टलाई ठुला बायोग्यास प्लान्ट भनी परिभाषित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.