बैंकर्स झपट बोहरा राजनीतिक दौडमा, अछाम जिल्लाबाट चुनाव लड्दै

  २०७४ कार्तिक ६ गते १७:३३     विकासन्युज

काठमाडौं । बैकिङ क्षेत्रका चर्चित व्यक्ति झपट बोहरा राजनीतिमा होमिएका छन् । विगत लामो समयदेखि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध बोहरा आछाम जिल्लाबाट प्रदेश सभामा सदस्यको लागि सिफारिस भएका छन् ।

पाटीले अछाम जिल्ला प्रदेश १ का लागि बोहरासहित खगेन्द्र रोक्का र दीपक साउदको नाम सिफारिस गरेको छ ।

सुदुरपश्चिम क्षेत्रबाट बैकिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका बोहरा राजनीतिको साथै आर्थिक विकासको बारेमा राम्रो ज्ञान भएका, प्रष्ट विचार राख्ने र नेतृत्व खुबी भएका व्यक्तिको रुपमा परिचित छन् ।

सुदुरपश्चिमका सफल व्यवसायी

बैंकिङ सेवा काठमाडौंमा मात्र केन्द्रीत रहेको समयमा झपट बोहराले सुदुर पश्चिम क्षेत्रमा पहिलो पटक मालिका विकास बैंक स्थापना गर्ने कार्यको अगुवाई गरेको थिए । धनगढीमा स्थापना भएको सो बैंकमा उनी कार्यकारी अध्यक्ष भएर ११ वर्षसम्म काम गरेका थिए ।

उनीको नेतृत्वमा स्थापना भएको मालिका विकास बैंक मोफसलको उत्कृष्ट बैंकको रुपमा स्थापित भयो । नेपाल विकास बैंकर्स संघको अध्यक्ष समेत भएर उनले सफल नेतृत्व गरेका थिए ।

पछि उनको नेतृत्वमा साझा विकास बैंक स्थापना भयो । बोहरा मालिका र साझा दुबै विकास बैंकमा उनी संस्थापक अध्यक्ष हुन् ।

बैकिङ सेवाबाट सफलता हासिल गर्दै उनी पुँजी बजार र बीमा क्षेत्रमा प्रबेश गरे । उनले काठमाडौंमा ग्रोमर मर्चेन्ट बैकिङ लिमिटेडमा स्थापना गरे र सो संस्थामा ८ वर्षसम्म अध्यक्षको भूमिका निर्वाह गरे ।

१० वर्षअघि उनकै नेतृत्वमा स्थापना भएको नेपाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा कारोबारको लागि बीमा समितिबाट अनुमतिको प्रतिक्षामा रहेको छ ।

पछिल्लो समय उनी सिनर्जी फाइनान्स लिमिटेडमा अध्यक्ष भएका थिए । सिनर्जीमा २ वर्ष अध्यक्ष भएका बोहरा करिब १ महिनाअघि सो पदबाट राजीनामा गरेर निर्वाचनको तयारीमा जुटेका छन् ।

देशको समग्र आर्थिक विकासमा जोड दिने बोहराले सुदुर पश्चिम क्षेत्रको विकासलाई राज्यले बढी प्राथमिकता दिनु पर्ने माग गर्दै आएका छन् । ‘पद मेरो प्राथमिकता होइन, देशको आर्थिक विकास राज्यको पहिलो प्राथमिकता हुनुपर्छ’ विकासन्यूजसँग कुरा गर्दै बोहराले भने-‘भौगोलिक क्षेत्रको आधारमा सुदुर पश्चिम क्षेत्र निकै पछाडि परेको छ, यस क्षेत्रको विकासमा मैले विशेष जोड दिन्छु ।’ नागरिक स्तरदेखि पार्टी नेतृत्वसम्म सबैको विश्वास र सहयोग लिएर निर्वाचनको प्रतिस्पर्धामा भाग लिन लागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.