४५ जिल्लामा बन्यो मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय, आजैदेखि सञ्चालनमा

  २०७४ कार्तिक ९ गते १५:२१     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आजदेखि ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । त्यस्तै प्रदेश नम्बर ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नम्बर ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि २०७४ कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.