प्रत्यक्षतर्फको मतपत्रको आजैबाट छपाई सुरु, राजधानीमा दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण कार्यक्रम’

  २०७४ कार्तिक १० गते १६:२०     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाई आजबाट सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको जानकारी दिए ।

निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु गरेको छ ।

प्रमुख आयुक्त यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरेका छन् । उनले निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

यादवले सम्मानित सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताए । उनले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए । यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए ।

माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना गर्नुपर्ने बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको क्रममा छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिँदै निर्वाचन आयुक्त शाहले भने– ‘‘निर्वाचनका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’ उनले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारीसमेत दिनुभयो ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुराहरु तल्लो तहसम्म पुर्‍याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.