ग्याँस कमिशन दोब्बरले बढाउन व्यवसायीको माग, माग पूरा नभए वितरण रोक्ने चेतावनी

  २०७४ कार्तिक १२ गते १७:१९     पवन तिमिल्सिना

काठमाडौं । ग्याँस बिक्रेताहरुले ग्याँसको कमिसन दोब्बरले बढाउन माग गर्दै सरकारलाई दबाव दिएका छन् । ग्याँस बिक्रेता महासंघले कमिशन नबढेकोमा आपत्ति प्रकट गर्दै कमिशन बढाउन माग गरेको हो ।

अहिले ग्याँसको मूल्य प्रति सिलिन्डर १३२५ रुपैयाँ रहेको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्याँस मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको छ । उनीहरुले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६५ रुपैयाँ बढाउन माग गरेका हुन् ।

महासंघले आइतबार आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलरहरुले सरकारलाई ग्याँस वितरण नगर्ने चेतावनी दिएको छ ।

गत साउनमा सरकारले कमिशन नबढाई ग्यासको मूल्य कायम गरेकोमा आपत्ती प्रकट गरेको छ । आफ्नो माग सम्बोधन नभए ग्याँसको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ ।

आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ ।

दिनदिनै भइरहेको मूल्य वृद्धिलाई थेग्न नसक्दा ग्यास व्यवसायी पलायन हुनुपर्ने अवस्था रहेको महासंघको भनाई छ । नेपाल आयल निगमले ग्यासको भाउ बढाउने तर व्यवसायीले पाउने मूनाफा कहिले वृद्धि नभएको उनिहरुले बताएका छन् ।

उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघले विगत ५ वर्षदेखि सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा कमिसन बढाउनुपर्ने बताएको छ । यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।

साथै व्यवसायीले बिक्रेताको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारेका छन् ।

ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने महासंघले सरकारसमक्ष माग राखेको छ  । एलपि ग्यास सर्वसाधरणको चुलोमा अतिआवश्यक भएकाले यसमा भ्याट हटाउनुपर्ने उनीहरुको माग छ । देशमा एलपि ग्यासको कुल खपत मध्ये ४० प्रतिशत ठुला घराना र ६० प्रतिशत सर्वसाधारणले प्रयोग गरिरहेको महासंघले जानकारी दिएको छ ।

ग्यास दुर्घटनालाई न्युनिकरण गर्न डिलरलाई इजाजत दिँदा राम्रो जानकारी भएको र तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् ।

उपभोक्ताहित प्रतिकुल माग गरेको भन्दै उपभोक्ताकर्मीले ग्यास बिक्रेताको विरोध गरेका छन् । निगम र ग्यास व्यवसायीको आन्तरिक विवादले उपभोक्तालाई प्रतिकुल असर पार्न खोजेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।

उनले भने, ‘अहिले व्यवसायीको कमिशन बढाउँदा र ग्यासको वितरण रोक्ने धम्की दिदाँ त्यसको सिधा असर उपभोक्तालाई पर्छ । सर्वसाधारणलाई असर पार्ने किसिमले कमिसन बढाउने र वितरण रोक्ने धम्कीपूर्ण मागप्रति हाम्रो विरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.