नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा, बीमितलाई सबैभन्दा बढी लाभांश प्रदान गरिने

  २०७४ मंसिर ४ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा केही समयदेखि उत्साहजनक योगदान पुर्याउँदै आएको कार्कीले बताए । पछिल्लो समय बीमा क्षेत्रले बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवं परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ ।

कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए । बीमितलाई कुन कम्पनीमा बीमा गर्दा बढी हित हुन्छ भन्ने कुरा बुझाउने कार्यमा अभिकर्ताहरुको भूमिका निकै ठूलो भएको उनले बताए ।

अभिकर्तालाई समाजमा स्थापित गर्न प्रयास गर्दै आएको उनको भनाई छ । कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितको हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दिगो विकासमा ध्यान दिएको झाले बताए ।

कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन तीन अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको भन्दा तीन गुणाले बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार तीन महिनामा कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ३६ करोड रुपैयाँ भएको छ भने कुल लगानी ५० अर्ब रुपैयाँ भन्दा बढी छ । यस कम्पनीले बीमितलाई प्रतिहजार ६५ देखि ८२ रुपैयाँ बोनस प्रदान गर्दै आएको छ । बीमितलाई सबैभन्दा बढी बोनस दिदै आएको यस कम्पनीले सर्वाधिक बोनस दरलाई कायम गर्दै अगाडि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.