२०७४ माघ २० गते १६:३५ विकासन्युज
काठमाडौं। बागमती सफाई महाअभियानलाई नेपाल टेलिकमले आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गरेको छ । टेलिकमको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आज (शनिबार) उक्त सहयोग गरेको हो । टेलिकम पनि २४७ औँ हप्ताको बागमती सफाई महाअभियानमा सहभागि भएको जनाइएको छ ।
सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेकी थिइन् ।
अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि उनले १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से, मास्क लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जनइएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले बागमतीका साथै नेपालका अन्य नदीहरु पनि सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले अझै पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
टेलिकमका अनुसार शनिबार कम्पनीमा कार्यरत कर्मचारीहरु बागमती कोरिडोर हुँदै शंखमुल निकट सफाई स्थल बागमती पुगेर महाअभियानमा सहभागिता भएका थिए ।
त्यस्तै वार्षिकोत्सवकै अवसरमा कर्मचारीहरुबीच कम्पनीले विभिन्न खेल खेलाएको र विजयी खेलाडीहरुलाई एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको कम्पनीको सहप्रवत्ता शोभन अधिकारीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.