२०७४ माघ २३ गते १३:२४ विकासन्युज
काठमाडौं । एलआइसी नेपालले पेन्सन बीमा योजना ‘जीवन अक्षय-१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० बर्षदेखि ७० बर्ष उमेर समुहका नागरिकलाई लक्षित गरेर पेन्सन योजना ल्याएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् ।
बिमितले बीमा योजना सुरु हुनासाथ आजीवन र मृत्युपछि पति वा पत्निलाई पनि ५० प्रतिशत पेन्सन उपलब्ध गराउनेछ । कम्पनीले यस अघि जीवन तरंग नामको पेन्सन बीमा योजना ल्याएको थियो ।
सो योजना अन्तर्गत कम्पनीले बीमा योजना परिपक्क भएपछि ५ प्रतिशत रकम बार्षिक रुपमा पेन्सनका रुपमा भुक्तानी दिने गरेको थियो । जीवन अक्षय १ मा भने बीमितहरुलाई वर्तमान ब्याजदर अनुसार ११.७७ प्रतिशत र भविष्यमा पनि सोही अवधीको ब्याजदर अनुसार पेन्सन दिन लागेको हो ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा कम्पनीहरुले पोलिसी बेच्दा दिगो ढंगले बेच्नुपर्ने धारणा राखेका थिए । कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले अब पेन्सनका लागि सरकारी जागिर कुर्नुनपर्ने बताए । उनले निजी कम्पनीमा जागिर गर्नेहरुले समेत जीवन अक्षय १ योजना मार्फत पेन्सन लिन सक्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.