२०७४ फागुन ३० गते १६:५५ विकासन्युज
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ ।
बैंकले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ ।
अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.