२०७४ चैत १ गते १८:१० विकासन्युज
काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको उक्त कम्पनीले भक्तपुरमा सेन्टर स्थापना गरेको हो ।
बिहीबारदेखि सुरु गरिएको उक्त स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुनका साथै स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै उपलब्ध गराउने टेलिकमले बताएको छ । कम्पनीका अनुसार सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँ–नयाँ सेवा तथा उत्पादनहरुको जानकारी प्रदान गरिनेछ ।
कम्पनीका अध्यक्ष सर्वेस जोशीले सो नयाँ सेन्टरको उद्घाटन गरेका थिए । उनले ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर सञ्चालन गरेको बताए ।
यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टर स्थापना गरिसकेको जनाएको छ । आगामी दिनमा मुलुकको प्रमुख सहरहरुमा कम्पनीले आफ्नो स्मार्ट सेन्टर स्थापना गर्ने योजना गरेको कम्पनीका अध्यक्ष जोशीको भनाइ छ ।
१ जुलाई २००८ मा सूचना तथा सञ्चारको क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले स्मार्ट सेलको स्थापना गरिएको हो । त्यसयता कम्पनीले नेपालका दुर्गम क्षेत्रहरुमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीले मुलुकभरी सेवा विस्तार गर्ने योजनासहित हालसम्म आफ्नो फोरजि सेवा काठमाडाै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.