२०७४ चैत ७ गते १०:४७ विकासन्युज
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले प्लाष्टिकबाट पेट्रोलियम पदार्थको उत्पादन सुरु गरेको हो । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको छ ।
नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । “यसलाई वर्गीकरण गरेर ६० प्रतिशत डिजल तथा २०-२० पेट्रोल र मट्टीतेल छुट्याउन सकिन्छ”, डा ढकालले भने, “नत्र सबै डिजल मात्र पनि बनाउन सकिन्छ ।”
ढकालले कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकलाई नवीकरण गर्न सकिने र नसकिने वर्गीकरण गरेर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । नवीकरण हुने प्लाष्टिकलाई पुनःनवीकरण गर्ने र नवीकरण नहुने प्लाष्टिकलाई पेट्रोलियम पदार्थ उत्पादन गर्न ढकालले सुझाव दिएका छन् । यसअघि नाष्टले ३५ नगरपालिकामा सो प्रविधि प्रयोग गरेर देखाइसकेको छ ।
ढकालले अहिले विश्वका ६५ मुलुकमा सो प्रविधि लागू भइसकेको जानकारी दिए । स्थानीय तहमा सो प्रविधि लागू गर्न रु ४० देखि ५० लाख पर्ने यन्त्र आवश्यक पर्ने बताइएको छ ।
झापामा फालिएको प्लाष्टिकजन्य फोहरबाट दैनिक २१ हजार लिटरभन्दा बढी उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।
नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको र यसबाट मुलुक समृद्ध बनाउन योगदान पुग्ने बताए ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्लाष्टिकजन्य फोहरलाई नगरपालिकाले अवसरका रुपमा लिने बताए ।
कार्यक्रममा सांसद एलपी साँवा लिम्बू र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रविधि स्थानीय तहमा प्रयोग गर्न सके फोहर व्यवस्थापनमा ठूलो टेवा पुग्नाका साथै पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताए ।रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.