२०७४ चैत १४ गते १४:११ विकासन्युज
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता भएको छ । उक्त सम्झौता बुधबार(आज) रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सम्झौतामा रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्म अनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारिक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीब ९० लाख रुपैयाँ उपलब्ध गराउने नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताएका छन् ।
सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताएका छन् ।
दशवर्षे सशस्त्र द्धन्दको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.