२०७४ चैत १५ गते १७:४७ विकासन्युज
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले दृष्टिविहीन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ ।
कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी जेएडब्लुएस नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको छ । ती कम्प्युटरहरु शिवालय माध्यमिक विद्यालय- कुश्मा, पर्बत, बन्देवी माध्यमिक विद्यालय- चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय- पालुङटार, गोर्खा तथा जन विकास माध्यविक विद्यालयका-बेशिसहर, लम्जुङ मा बाँडिएका थिए ।
नबिल बैंकका बागलुङ् शाखाका शाखा प्रमुख लुजाराज भण्डारीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । यसैगरी बन्देवी माध्यविक विद्यालय- चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख धर्मराज बंजाराले कम्प्युटरहरु हस्तान्तरण गरेका छन् ।
यसका साथै पालुङटार, गोर्खास्थित अमर ज्योति माध्यमिक विद्यालयमा बैकका गोर्खा शाखाका संचालन इन्चार्ज विश्वाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रकाश न्यौपानेलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गोर्खा महिला अपाङ्ग संघका अध्यक्ष, श्रीमती गीता माया श्रेष्ठको समेत उपस्थीती रहेको थियो । अन्ततः लम्जुङ स्थित जन विकाश माध्यविक विद्यालयमा नबिल बैंकका बेसिसहर शाखाका संचालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरु लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, युवराज मैनालीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए ।
नबिल फाउण्डेसनले विद्यालय तथा छात्रछात्राका शैक्षिक बिकासमा योगदान पुर्याएकोमा चारवटै विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.