एकै वर्ष ३ सय भन्दा बढी उद्योग दर्ता, २० हजार मानिसले रोजगारी पाउने

  २०७४ चैत १८ गते १७:१४     रमेश लम्साल/अच्युत रेग्मी

काठमाडौं । करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन् ।

विभागका अनुसार कूल उद्योगमध्ये १९४ वटा उद्योग विदेशी लगानीका उद्योग हुन् भने १०८ उद्योग नेपाली लगानीकर्ताले नयाँ दर्ता गरेका हुन् ।विभागका अनुसार कृषिजन्य १५, निर्माण तीन, ऊर्जामूलक २६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १५, उत्पादनमूलक ८७, खनिज तीन, सेवामूलक ६७ र पर्यटन ८६ उद्योग दर्ता भएका हुन् ।

मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको र लगानीकर्तामा विश्वासको वातावरण समेत पैदा भएकाले पछिल्ला दिनमा नयाँ उद्योग दर्ता गरेर सञ्चालन गर्ने क्रम बढेको छ ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि मुलुकमा राजनीतिक स्थायित्व देखिएको र प्रायः सबै राजनीतिक दलले आर्थिक समृद्धिको विषयलाई नै प्रमुख प्राथमिकतामा राखेका कारण पनि लगानीका नयाँ अवसर थपिएका हुन् ।

पछिल्लो आठ महिनामा दर्ता भएका उद्योगमा रु दुई खर्ब ३२ अर्ब ८७ करोड ९६ लाख बराबरको लगानी हुने भएको छ । विभागका अनुसार पर्यटन क्षेत्रमा मात्रै रु १२ अर्ब ७४ करोड ४० लाख बराबरको नयाँ लगानीसम्बन्धी प्रतिबद्धता आएको छ । ती उद्योगबाट तीन हजार २५८ जनाले नयाँ रोजगारी पाउने भएका छन् ।

नेपालको आर्थिक समृद्धिको आधारका रुपमा लिइएको पर्यटन क्षेत्रमा पछिल्लो पटक लगानीको मात्रा बढ्दै गएको हो । सरकारले सन् २०२० सम्म करिब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले सो लक्ष्य पूरा गर्ने उद्देश्यले उद्यमी व्यवसायीले पाँचतारे होटलदेखि पर्यटकीय होटल तथा रेष्टुराँमा लगानी बढाएका हुन् ।

लगानीमैत्री वातावरण बनेको भन्दै पर्यटन क्षेत्रमा लगानी बढेको होटल एशोसिएशन अफ नेपाल९हान०का महासचिव विनायक शाहको भनाइ छ । यस्तै सेवामूलक क्षेत्रमा रु तीन अर्ब ८९ करोड ५८ लाख लगानी गर्ने प्रतिबद्धता आएको छ । सो उद्योगबाट करिब तीन हजार जनाले नयाँ रोजगारी पाउनेछन् ।

आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको छ । पछिल्लो आठ महिनाको तथ्यांकलाई हेर्ने हो भने सो क्षेत्रमा रु एक खर्ब ५० अर्ब ७९ करोड लगानी भित्रिने प्रतिबद्धता आएको छ । सो परिमाणको लगानीबाट एक हजार ६०८ जनाले नयाँ रोजगारीको अवसर पाउने विभागले जनाएको छ ।

उत्पादनमूलक क्षत्रेमा लगानी गर्ने लक्ष्यसहित ८७ विभागमा दर्ता भएका छन् । त्यसमा रु ५६ अर्ब ४८ करोड २० लाखको नयाँ लगानी हुनेछ । ती उद्योगबाट करिब १० हजार जनाका लागि नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ ।

सूचना प्रविधिको बढ्दो विकासलाई पछ्याउँदै उद्योगमा लगानी गर्ने क्रम समेत बढेको विभागको पछिल्लो तथ्यांकमा देखिएको छ । चालू आवको आठ महिनामा सूचना प्रविधिका क्षेत्रमा मात्रै १५ नयाँ उद्योग थपिएका छन् । ती उद्योगको कूल लगानी रु ५९ करोड ३० लाख बराबरको छ । ती उद्योगबााट करिब एक हजार जनाले नयाँ रोजगारीको अवसर प्राप्त गर्ने विभागले लक्ष्य लिएको छ ।

त्यस्तै कृषिजन्य उद्योगमा थप रु दुई अर्ब १३ करोड नयाँ लगानी भित्रिने भएको छ । नेपाल कृषि प्रधान देश भए पनि संगठित रुपमा कृषिमा लगानी नभइरहेको सन्दर्भमा नयाँ उद्योगले कृषिउपजको बजारीकरण तथा आर्थिक उन्नयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ । नयाँ दर्ता भएको उद्योगबाट ३५१ जनाले नयाँ रोजगारी पाउने छन् ।

विभागका अनुसार निर्माण उद्योगमा नयाँ तीन उद्योग थपिने भएका छन् । ती उद्योगमा रु चार अर्ब एक करोड बराबरको लगानी हुनेछ भने २२८ जनाले रोजगारीको अवसर पाउने छन् । खनिजतर्फ नयाँ तीन उद्योग दर्ता भएका छन् । ती उद्योगमा रु दुई अर्ब २२ करोड २२ लाख बराबरको लगानी हुनेछ जस्मा ५२० जनाले रोजगारी पाउने जनाइएकोे छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.