यूनाईटेड इन्स्योरेन्समा कर्मचारीमाथि शोषण, राजीनामा दिएका कर्मचारीलाई बर्खास्त गर्दै जरिवाना तिराउँदै

  २०७४ चैत २२ गते १७:२०     विकासन्युज

काठमाडौं । बारम्बार विवादमा आईरहेको यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारीमाथि चरम शोषण गरिरहेको छ । कम्पनीको सार्वजनिक छवि विग्रदै जाँदा कर्मचारीको मनोबल निकै खस्किएको छ । परिणाम स्वरुप कर्मचारीहरुले भटाभट राजीनामा दिन थालेका छन् ।

कर्मचारीहरुले राजीनामा थेग्न गाह्रो भएपछि कम्पनी व्यवस्थापन भने दमन र शोषणमा उत्रिएको छ । राजीनामा दिएका कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, राजीनामा दिएको तीन महिनापछि कार्यालय हाजिर नहुने कर्मचारीहरुलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गर्ने र ४ महिनाको तलव बराबर क्षतिपूर्ति तिराउने काम गरिरहेको पीडित कर्मचारीहरुले बताएका छन् ।

पछिल्लो समय कम्पनीको मुख्यालयको व्यापार शाखा प्रमुख बद्री अधिकारी, पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, सर्लाही शाखा प्रबन्धक दिनेश कार्की, जनकपुर शाखा प्रबन्धक मुकेश कुमार दाहालले राजीनामा दिएका छन् । त्यस्तै, केन्द्रीय कार्यालयका लेखा अधिृकत रविरञ्जन सराफ, धनगढीका शंकर कुमार भण्डारी, बनेपाका राधाकृष्ण श्रेष्ठ, इटहरीका पूजा निरौलाले राजीनामा दिएका छन् ।

यसअघि केन्द्रीय कार्यालय तथा विभिन्न शाखाबाट राकेश कर्माचार्य, प्रकाश गैरे, धिरेन्द्र जोशी, हरि चौधरी, प्रविण कोइराला, टंक रेग्मी, प्रकाश पन्त, ईश्वार भट्टराईले कम्पनी छोडेर हिडेका थिए ।

‘कम्पनीको व्यापार खस्केको छ, कम्पनी नोक्सानमा गएको छ, नाफा नभएकोले कर्मचारीले बोनस पनि पाएका छैनन्, कम्पनीको ब्राण्ड इमेज खत्तम छ, बजारमा विश्वास गुम्दै गएको छ । कर्मचारीलाई काम गर्न गाह्रो भएको छ । राजीनामा दिएर छोड्दा ४ महिनासम्मको तलब फिर्ता गर्नु परेको छ’ एक जना पीडित कर्मचारीले विकासन्युजसँग दुःखेसो व्यक्त गरे ।

‘शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका कर्मचारीले १० महिनाको तलव बराबर बोनस पाएका छन् । अरु धेरै निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई हरेक वर्ष ४ देखि १० महिना अवधिको तलब बराबर बोनस खुवाएका छन्’ उनी भन्छन्–‘यूनाईटेडले आर्थिक २०७१/७२ को नाफाबाट २ महिनाको तलव बराबर बोनस खुवायो । त्यसपछि कम्पनी नोक्सानमा गएको छ । त्यसअघि पनि कर्मचारीले बोनस खान पाएका छैनन् ।’

कर्मचारीप्रति निर्मम छन् सीईओ

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल कर्मचारीप्रति निर्मम ढंगले प्रस्तुत हुने गरेका छन् । ‘कसैले राजीमाना दियो भने राजीनमा फिर्ता लिन भन्छन् । फिर्ता लिन नमानेपछि ‘त्यरो कर्मचारीलाई करिअर ध्वस्त बनाइदिन्छु भन्छन्’, एक पीडितले भने ।

पीडितका अनुसार कर्मचारीले कम्पनीलाई बुझाउने कुनै पनि पत्र दर्ता नभई सीईओ बरालले हेर्छन । सीईओले दर्ता गर्न तोक लगाएपछि मात्र दर्ता हुन्छ । कर्मचारीले दिएको राजीनामा पत्र दर्ता गर्न समेत गरिदैन ।

राजीनामा पत्र सीईओले हेरपछि उक्त कर्मचारीका लागि सबैभन्दा अप्ठ्यारो पर्ने शाखा छानेर सरुवा गर्ने निर्णय गराउँछन् । सरुवा गरिएको ठाउँमा नगएपछि बर्खास्तीको निर्णयमा जान्छन् र कर्मचारीलाई ४ महिनासम्मको तलब जतिवाना तिराउँछन् ।

पीडित मध्ये एक हुन् इटहरी शाखामा काम गर्ने पुजा निरौला । उनले कम्पनीमा जागिर खाएको ४ महिनापछि राजीनामा दिईन् । तर उनको राजीनामा स्वीकृत भएन ।

उनलाई बर्खास्ती गर्ने निर्णय गरियो र कम्पनीलाई क्षति पुर्याएको भन्दै २ महिनामा तलब फिर्ता गर्न बाध्य गराईयो ।

उनी जस्तै, पीडित हुन् पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, जसले कम्पनीमा राजीनामा दिएर सुख पाएनन्, ४/४ महिनाको तबल फिर्ता दिनुपर्यो ।

तलब फिर्ता गर्न नमान्नेका कारण केन्द्रीय कार्यालयका बजार प्रमुख बढी अधिकारीलाई कम्पनीले सार्वजनिक रुपमा बद्नाम गराउने गरि पत्रिकामा सूचना नै प्रकाशित गरेको छ ।

स्रोतका अनुसार बद्रीले २०७४ माग ७ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरिएन । उनलाई नारायणगढमा सरुवा गरियो । उनी जान मानेनन् । अन्ततः कम्पनीले चैत २१ गते उनलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गरेको छ ।

जनकपुरको श्रम कार्यालय र काठमाडौंको श्रम कार्यलायले श्रम ऐन २०७४ को दफा १४१ (३) अनुसार श्रमिकको राजीनामा स्वीकृत नगरिएको भन्दै कम्पनीसँग प्रष्टिकरण मागेको छ । तर कम्पनी भने श्रम कार्यालयविरुद्ध पुनरावेदनमा जाने तयारीमा रहेको छ ।

याे पनि पढ्नुहाेस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.