२०७५ वैशाख ३ गते ९:५४ विकासन्युज
काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको तयारीमा रहेका कम्पनीले आउदो ३ साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने भएको छ । बोर्डले २१ दिनभित्र निवेदन दिन कमोडिटी सञ्चालकलाई भनेको छ । त्यसपछि आउने निवेदनलाई स्वीकार नगरिने उसले स्पष्टपारेको छ ।
हालसम्म ४ वटा कम्पनीले सञ्चालनको अनुमति दिएको र ३ साताभित्र निवेदन दिनेलाई मात्र सञ्चालन स्वीकृति दिन सकिने बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनकाअनुसार सिमेक्स र जीएमएलगायत ४ कम्पनीले सञ्चालनका लागि अनुमति मागेका छन् । बोर्डले कम्पनीको विषयमा अध्ययन गरिरहेको छ ।
यसअघि आधा दर्जन कम्पनी नियमन विना नै सञ्चालनमा आएका थिए । वस्तु विनिमय बजार विवादित बनेपछि सरकारले ऐन ल्याएर नियमन गर्न थालेको हो ।
विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । वेयर हाउसका लागि १५ करोड, राफसाफ तथा फछ्र्योटका लागि ७ करोड, व्यवस्थापकको लागि ५ करोड, परामर्शदाताका लागि १ करोड र वस्तु कारोबार दलालको लागि ५० हजार बराबरको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरिएको छ ।
साधारण सेयर (आईपीओ) निष्कासनका लागि हालसम्म व्यवस्था नगरिएको गिरीको भनाई छ । उनले आवश्यक पुर्वाधार तयार पुरा गरेकालाई सञ्चालन गर्न स्वीकृति दिने जानकारी दिए ।
देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधन, स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिन त्यस्तो आर्थिक दायित्वसहितको व्यवस्था गरिएको प्रवक्ता गिरीको भनाइ छ ।
यी सामानको कारोबार गर्न पाइन्छ
वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ ।
त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ ।
यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.