२०७५ वैशाख ४ गते १८:५० विकासन्युज
काठमाडौं । अबैध रुपमा चोरीपैठारी भइ मुलुकमा भित्रिने कपडा (टेक्स्टायल) बाट सरकारले ७० अर्ब रुपैयाँ राजस्व गुमाइरहेकोे छ । कानूनी प्रक्रियाभन्दा बढी अवैध रुपमा नेपालमा टेक्स्टाइल आयात हुनेगरेको धागो व्यवसायीहरुले बताएका छन् ।
नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गेल्याणले मुलुकमा वार्षिक ४५ करोड मिटर टेक्स्टायल खपत हुने बताए । जसमध्ये ३५ करोड मिटर अबैध रुपमा मुलक भित्रीरहेकोे उनको भनाइ छ । ‘यसबाट सरकारलाई करिब ७० अर्ब रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ,’ उनले भने ‘एकातिर सरकारी राजस्व चुहावट भएको छ भने, अर्कोतर्फ आयातित टेक्स्टायलको कारण स्वदेशी उद्योगहरु संकटमा पर्दै गएका छन् ।’ उनले विगतमा कतिपय टेक्स्टायलका उद्योगहरु बन्द भएको र भएका उद्योगहरुले पनि पूर्ण क्षमतामा काम गर्न नसकिरहेको जानकारी गराए । हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् । जसमा ज्योति स्पीनीङ मिल्सले क्षमताको १० प्रतिशत मात्रै उत्पादन गरिरहेको छ । टेक्स्टायल तथा धागो उद्योग अन्तर्गत कपडा, होजियरी, निटिङ लगायतका उद्योगहरु पर्दछन् ।
उनका अनुसार खुला सीमा भएको कारण चोरीछिपी ल्याउने तथा भन्सारमै न्यूनबिजकीकरण गर्ने लगायतको कारण अबैध रुपमा ठूलो परिमाणमा मुलुकमा धागो भित्रिरहेको छ । यदी यसलाई सरकारले नरोक्ने हो भने हाल सञ्चलन भइरहेका उद्योग पनि धरासायी हुने उनको भनाइ छ ।
‘अहिले चीनबाट समेत विभिन्न किसिमका कपडा मुलुकमा आयात भइरहेको छ । केरुङको भन्सार नाकाबाट जाँचपास गर्दा प्रतिकिलो एक अमेरिकी डलरमा समेत मूल्याङ्कन कायम गरि सामानहरु छुटिरहेका छन्,’ उनले भने ‘त्यस्तै गलत विवरण पेश गरि सामान आइरहेको छ । कटन यार्नमाको आयातमा सरकारले भन्सार एक प्रतिशत र भ्याट छुट गरेको छ । तर अहिले त्यसको नाममा भन्सार बढी लाग्ने सिन्थेटिक धागो आयात भइरहेको छ ।’
संघको अनुसार हाल मुलुकमा कटन धागोबाट कपडा उत्पादन गर्ने कारखना थपिएको छैन आयात भने प्रतिवर्ष बढिरहेको अवस्था छ । स्पष्ट हुन्छ कि रङ डिक्ल्यिरेशनबाट धागोको आयात भइरहेको छ । भन्सारको कमजोरिको कारणले गर्दा अहिले मुलुकमा स्वदेशीभन्दा विदेशी धागोको प्रयोग बढेको हो । चीन र भातरबाट अबैध रुपमा आयात हुने धागोको कारण प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उत्पादनको ८० प्रतिशत धागो निर्यात गर्नु पर्ने अवस्था छ ।
संघका उपाध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार चीनबाट मुलुकमा आयता गरिने अधिकांश धागो, कपडाहरु उक्त देशले त्यहाँ प्रतिबन्ध लगाएका हुन्छन् । सोही सामानहरु नेपालमा भित्रिरहेको छ । ‘१ करोड रुपैयाँको आयात भइरहँदा नगन्य लाग्ने गरेको छ,’ उनले भने ‘जसकारण नेपालमा अबैध आयात बढेर धागोको डम्पिङ बन्दै गाइरहेको छ ।’ भारत, चीन, बंगलादेश लगायत सबैजसो मुलुकले एन्टीडम्पिङ कानुन ल्याइसकेको अवस्थामा पनि नेपाल भने मौन रहेको उनको बुझाइ छ । साथै धागो निर्यातमा चीनले १७ प्रतिशत, भारतले ५ देखि आवश्यकता अनुसार १० प्रतिशत अनुदान दिइरहँदा नेपालले पनि अनुदान बढाउन पर्ने धागो व्यवसायीहरुको जोड छ ।
नेपालमा धाागो उद्योगहरुको १५ अर्ब रुपैयाँ लगानी छ । विदेशबाट कच्चा पदार्थ आयत गरी स्वदेशमा धागो उत्पादन भइरहेको छ । उद्योगले हाल १० हजार जनालाई प्रत्यक्ष रोजगार दिएको छ भने, भ्यालु एडिशन कम्तिमा पनि ५० प्रतिशत रहेको मंलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले जानकारी गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.