२०७५ वैशाख १० गते ११:१० रामकृष्ण पौडेल
काठमाडौं । पत्रकारको जन्म अर्काको कथा सुन्न, अर्काको कहानी लेखिदिने र अर्काका सुखदुःख बोलिदिन भएको हो, आफ्नो लेख्न होइन । तर संस्मरणको रुपमा म आज आफ्नै कार्यालय विकास मिडिया परिवारको एकदिने भ्रमणको बारेमा लेख्दैछु ।
‘यसपाली नयाँ वर्ष रमाइलोसँग मनाऊँ । बैंशाख १ गते विकास मिडिया परिवार चन्द्रागिरी घुम्न जाऊँ’ साथी खेम अधिकारीले चैतको अन्तिम साता प्रस्ताव गरे । ‘सबै जनाबीच छलफल गरौं’ मैले भने ।
भोलिपल्ट छलफल भयो र २ गते चन्द्रगिरी भ्रमणमा जाने सहमति जुट्यो ।
चैत १७ गते मोटरसाईकल दुर्घटनामा परेर दाई दीपक पौडेलको निधनले नारायण पौडेल शोकमा थिए । दुर्घटनासँग जोडिएको कार्यमा थप समय दिनुपर्ने भएकोले उनी काठमाडौं फर्कन केही दिन ढिला हुने भयो ।
नारायणको अनुपस्थितिमा विकास मिडिया परिवार चन्द्रगिरी भ्रमणमा जाने र रमाइलो गर्ने भन्ने कुरै भएन । बैशाख २ गतेको कार्यक्रम ७ गते सर्यो ।
विकास मिडियामा रमाइलो वातावरण सिर्जना गर्नेमा नारायण, सन्दीप भट्टराई, खेम अधिकारी र आशिषको भूमिका बढी हुन्छ । चन्द्रागिरी भ्रमण जानु पूर्वको तयारी र कार्यक्रमको जिम्मेवारी आशिष र सन्दीपले पाए, सबै साथीसँग समन्वय गर्ने गरी ।
विकास मिडियाको प्रकाशन देशविकास साप्ताहिक र न्यूजपोर्टल विकासन्यूजमा नियमित क्रियाशिल २२ जना मध्ये १८ जना मात्र चन्द्रागिरी भ्रमणमा निस्कियौं । आफन्तको विवाहसहितको वाध्यात्मक कारण जनाउँदै ४ जना साथीहरु भ्रमण सहभागि हुन सकेनन् ।
छातीमा ‘देशविकास’ पिठ्यूउँमा ‘विकासन्यूज डट कम’ प्रिन्टेड सेतो टिर्सट लगाएर टिमका सबै साथी ‘सँगै’ हिड्दा हामी मात्र खुशी भएनौं, बाटोमा विकास मिडियाको जुझारु टिम देख्ने मध्ये अधिकांश मुस्कुराए ।
यतिसम्म कि चन्द्रागिरीको विभिन्न आकर्षक क्षेत्रमा फोटो खिचाउने क्रममा अरु यात्रीहरुको भीडले हामीलाई प्राथमिकता दियो । मान्छे आकर्षित हुने फक्रेको फूलमा हो, ओइलाएको फूलमा होइन ।
ज्यानले साथ दिएसम्म काम गर्ने कर्मयोगि राजधानीबासीहरुको लागि बेलाबखत घुमघाम र आनन्द लिनको लागि चन्द्रागिरी पहाडको टुप्पो साँच्चिकै रमणीय ठाउँ छ । कम्तिमा धुलो, धुवाँलगायतको वातावरणीय प्रदुषणभन्दा माथि पुगिन्छ ।
चन्द्रगिरीको पानी मुखमा हाल्दा र एक धड्कन लामो स्वास लिदाँ पनि छुट्टै मज्जा हुन्छ । त्यहि मज्जा लिन विकास मिडिया परिवार चन्द्रगिरी चढेको थियो ।
राजु पौडेल र धर्मराज अर्यालसँग समन्वय गरी तय गरिएको स्थान फाइन डाइनिङ रेष्टुरेन्ट झोला बिसाएर हामी भालेश्वर मन्दिर दर्शनमा निष्कियौं ।
जहाँ मान्छेको भीड लाग्छ, त्यो ठाउँ प्रदुशित हुन्छ । मन्दिरको दर्शन गर्न वा केबुलकार चढ्न वा प्राकृतिक वातावरणमा वा चन्द्रागिरी पहाडको टुप्पोमा मानवनिर्मित पूर्वाधारमा मनोरञ्जन लिन दैनिक सरदर २००० मानिस पुग्छन् । तर यो ठाउँमा फोहोर देख्नु पर्दैन ।
मानिसहरु वातावरण र परिवेश अनुसार कृया, प्रतिकृया जनाउँछन् । हामीले गोलाप्रथामा आधारित रमाइलो खेल खेल्ने क्रममा चौरमा कागजको टुक्रा खसाल्यौं । त्यसले फोहोर देखियो । हामीले ती टुक्रा टिपेर झोलामा हाल्यौं ।
चन्द्रागिरीको सुन्दरतामा आफूलाई उभ्याउनु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु सबैको रुचिको विषय भैगो । तैपनि पिउन र पिलाउन, नाच्न र नचाउन हामीले धेरै समय बितायौं । स्वास्थ्यले चुनौति गरेपछि पृथराज थेगिमले ‘सोचे जति, चाहेजति’ इन्जोइ गर्न पाएनन् यस विधामा । फर्केपछि समिक्षा बैंठकमा उनले भने ।
प्रविधिको प्रयोगसँगै सार्वसाधारणमा गाउने कला र गला गुम्दै गएको छ । हाम्रो टिममा पनि त्यो कला र गला भएको साथी रहेनछन् । यशोदा पौडेलले नचाउने गीतहरु पेन ड्राइभमा लगेकी थिइन् । तर त्यहाँको साउण्ड सिस्टमको लागि पेन ड्राइभ काम नलाग्ने पुरानो प्रविधि भईसकेको रहेछ ।
इन्टरनेटमार्फत यूट्युवमा पहुँच सजिलो रहेछ । वाईफाई मज्जाले चल्दोरहेछ । २०७३ र २०७४ सालमा नेपाली सर्जक र गायकहरुले नचाउने गीत बनाएर यूट्यूवमा राखेकै छन् । त्यहि घन्काइयो र नाचियो ।
नाच्न त सबै नाचे तर यशोदा पौडेल र खेमराज श्रेष्ठले अछ्छा नाचे । नाच्न आनकानी गर्ने नरबहादुर कार्की र सन्दीप भट्टराईलाई आशिष ढुंगानाले काँधमा राखेर नचाई दिएपछि नाच्न लाज मान्ने सिर्जना थपलिया, रिचा दाहाल, मन्जरी पौडेल, शंकर अर्याल, शंकर तिमल्सिना, इन्द्र नगरकोटीलाई नाच्न रहर पनि लाग्यो, कहर पनि लाग्यो ।
वातावरण यस्तो बन्यो कि मदिरा सेवन नगर्ने नारायण पौडल मदिराको बोटल बोकेर नाच्न थाले । नपिए पनि मन्जरीले गिलासमा वाइन राखेर फोटो खिचाईन् । पहिलो पटक प्रकाशले वाईन चुस्की लगाए । पिउने पिलाउने मामलामा राजाराम न्यौपानेको पनि नयाँ पोल खुल्यो ।
फोटोमा दीपाश्री निरौलासँग चुम्बन गरेको फोटो खिचाएर आशिष र प्रकाशले हँसाउने र रिसाउने वातावरण बनाए । चुम्बन अभिनय गर्दा अंकमाल मिलाउन, ओठ मिलाउन, नाक मिलाउन आदेश दिदै परफेक्ट फोटो खिच्ने मन्जरी र यशोदाको वर्णनले कम्ता हसाँएनन् ।
बसमा फर्कदै गर्दा उक्त फोटो नै मजाकको विषय बन्यो । बसमा पछाडि बस्ने १५ जना पेट मिचिमिचि हस्दा अगाडि सिटमा बस्ने सिर्जना र रिचा रिसाएको पाइयो । शैली र शब्दमा गडबड भएछ । ड्राइभरसँग बस्ने इन्द्रले सुइकै पाएनन् ।
‘हास्दा हास्दा मेरो दुबै गाला दुख्यो’ मैले मेरो दुःख सुनाए । ‘हास्दा हास्दा मेरो पनि गाला दुख्यो’ धेरैले भने । हामी विहान १० बजेदेखि रमाइलोमा जुटेका थियौ, साँझ साढे सात बजेसम्म निरन्तर हाँसोको फोहोरा चलिरह्यो । बसबाट ओर्लदा सबै साथीको एउटै भनाई रह्यो–‘यस पटकको भ्रमण अविस्मरणीय नै रह्यो, सोचेभन्दा धेरै रमाईलो भयो ।’
तर हामीले महत्वपूर्ण अवसर गुमायौं । चन्द्रागिरी हिल्सका अध्यक्ष तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई हामीले त्यस कार्यक्रममा अथितिको रुपमा निमन्त्रणा गरेका थियौं । उनले निमन्त्रणालाई स्वीकार गरेका थिए ।
ढकाललाई सोध्न हामी १८ जनाले १८ वटा प्रश्न तयार गरेका थियौं । जीवन, सम्बन्ध, व्यवसाय, सफलता, राजनीति लगायत बहुविधामा प्रश्न तयार गरेका थियौं । उनी ढिलासम्म पनि अाइपुगेनन् ।
उनकाे खाेजी यति भयाे कि म्यू टावरमा चढेर दुरविन लगाएर हेरियाे । बाटाेमा अाउँदै गरेकाे पनि देख्न सकिएन । दिउँसो ३ बजेपछि फाेन गर्दा थाहा भयाे कि चितवनबाट काठमाडौं आउने फ्ल्लाइट डिले भएछ । हाम्रा १८ प्रश्न अनुत्तरित रहे ।
हामी रमाइलोमा झुमिरहदा चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिशेक बिक्रम शाह थोरै समय सहभागी भए । पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष र उदाउँदा ठूला लगानीकर्ता पनि हुन् । यसै साता नेप्से ११० अंकले बढ्यो । विकासन्युजका सम्पादक बाबुराम खड्काले प्रश्न गरिहाले–‘सेयर बजार यू टर्न भएको हो ?’
‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’
हेक्का राखौं, भविष्यवाणीका आधारमा सेयर बजारमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन्छ ।
विकास मिडियाको यस भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.