२०७५ वैशाख १५ गते १७:३० विकासन्युज
चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् ।
चितवनमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए । मन्त्री यादवले भने, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं । जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गर्छौ त्यो राष्ट्रियकरण हो ।” सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उनले साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने बताएका छन् ।
विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उनले भने, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै मन्त्री यादवले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गरेका छन् । उनले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालौँ भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताएका छन्।
मन्त्री यादवले सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने बताएका छन् । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उनले अन्य उद्योग क्रमश थप्दै लगिने बताए । साथै, उनले जनताको जनादेश पार्टी एकता भएकाले नेकपा एमाले र माओवादी बीचको एकता आवश्यक रहेको बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.