२०७५ वैशाख १८ गते १४:३६ विकासन्युज
काठमाडौं । पछिल्लो समय आन्तरिक बजारमा स्वदेशी वाइनको खपत बढ्दै गएको छ । अहिले स्वदेशी वाइनको बजार फैलदो क्रममा छ । आयातित वाइनलाई विस्तापन गर्दै निर्यात समेत हुन थालेको वाइन व्यवसायीहरु बताउछन् ।
विग मास्टर वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालय वेभरेजका प्रवन्धक निर्देशक गणेश चापागाईले पछिल्लो समय नेपालमा वाइनको बजार आक्रमक रुपमा अघि बढेको बताए । केही वर्ष अघिसम्म नेपालमा स्वदेशी वाइनको बजार हिस्सा ३० प्रतिशत मात्र थियो । बाँकी विभिन्न मुलुकदेखि आयात गरिन्थ्यो अहिले आयात घटेर स्वदेशमै उत्पादन भएको वाइनको हिस्सा ६० प्रतिशत पुगिसकेको जानकारी गराए ।
‘२/४ वर्षअघिसम्म वाइनको बारेमा धेरैलाई थाहा थिएन । थाहा भएकाहरुले पनि लेडिजहरुले पिउने मदिराको रुपमा मात्र चिन्थे । पसलमा वाइन पाइन्न थियो,’ उनले भने ‘अहिले हरेक पसलमा वाइन अनिवार्य राखिएको हुन्छ । ब्राण्ड र यसको फाइदाको बारेमा उपभोक्ताहरुलाई थाहा भइसकेको छ ।’
उनको अनुसार नेपालमा विग मास्टर, हिन्वा, रिवान्ड, डिभाइन लगायतका करिब ५० बढी वाइन उद्योग खुलिसकेको छ । माग सँगै उत्पादन बढिरहेको छ । ‘गएको वर्ष हाम्रो उद्योगले ६० हजार कार्टुन वाइन उत्पादन गरेको थियो,’ उनले थप्दै भने ‘यो वर्ष २५ प्रतिशत वृद्धि हुने अनुमान छ ।’
अघिल्लो वर्षको भन्दा गएको वर्ष ४० प्रतिशत वाइनको खपत बढेको उनको भनाइ छ । उनको अनुसार बिगमास्टर वाइन अंगुरबाट उत्पादित रेड वाइन हो ।
त्यस्तै सुनौलो हिमाली जुम्ला अग्र्यानिक अर्डर सप्लायर्सका कार्यकारी निर्देशक शिव न्यौपानेले पनि अहिले वाइनको बजार ह्वात्तै बढेको बताए । सप्लायर्स अन्तर्गतको आरके एप्पल हर्टीकल्चर डीस्टीलरीले गोल्ड स्पो वाइन उत्पादन गर्दै आएको जनाउदै उनले भने, ‘अहिले वाइनको बजार उत्साहजन बढको छ ।’ उद्योगले हार्ड ड्रीङ्स समेत उत्पादन गर्दै आएकोमा अत्यधिक मात्रामा वाइननै बिक्री भएको उनकाे भनाइ छ । ‘हार्ड ड्रीङ्स १ कार्टुन बिक्री हुदा वाइन ४/५ कार्टुन बिक्छ,’ उनले थपे ‘गएको वर्ष ९ सय काटुन वाइन बिmत्री भएकोमा यो वर्ष बढेर १२ सय काटुन पुग्ने देखिन्छ ।’ आगमी वर्ष अझ बढेर १३/१४ सय काटुन पुग्ने हाम्रो अनुमान छ ।’
आरके एप्पल डीस्टीलरीले उत्पादन गरेको २० प्रतिशत वाइन जापान निर्यात हुने गरेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए । साथै अस्ट्रेलिया समेत निर्यात गर्ने तयारी भइरहेको उनको भनाइ छ । जुम्लामै उत्पादन हुने स्याउबाट बन्ने गरेको वाइनलाई ७ वर्षअघि उद्योग स्थापनाताका शुरुवात अवस्थामा सय काटुन बिक्री गर्न हम्मेहम्मे पर्ने गरेको उनले सुनाए ।
अर्को तागेरा ब्राण्ड वाइनका सप्लायर्स कमानसिंह गुरुङले वाइन खरिदकर्ता बढिरहेको बताए । गएका वर्षहरुभन्दा अहिले स्वदेशी वाइनप्रति ग्राहकहरुको चासो देखिएको उनको भनाइ छ । ‘स्वाद उस्तै भएपनि विदेशी वाइन महङ्गो हुने भएकोले स्वदेशी उत्पादनले नेपालीहरुको ध्यान तानिएको हो,’ उनले भने ‘त्यसैले पनि स्वदेशी वाइनको खपत बढीरहेको छ ।’
उनले सप्लाई गरिरहेको तागेरा वाइनमा ४० प्रतिशत एलेवेरा, ७० प्रतिशत ग्राउण्ड एप्पल साथै सिजनेबल फुड मिक्स गरिएको जानकारी दिए । उक्त वाइन सेमी स्वीटमा उपलब्ध छ ।
वाइन व्यवसायीहरुका अनुसार मुलुकमा वाइन अंगुर, भुइ स्याउ (ग्राउण्ड एप्पल), एलोवेरा लागयतका फलफुलबाट निर्माण गर्ने गरिएको छ ।
त्यस्तै रेड र ह्वाईट वाइन बजारमा उपलब्ध छ । ती वाइनहरु स्वीट, सेमी स्वीट र ड्राई क्याटोगोरीमा पाइन्छ । वाईनको बजार फैलिएसँगै बियर र हार्ड ड्रिङ्स गर्नेहरु डाइभर्ट भएर वाइन पारखी बनेको व्यवसायीहरुले बताउदै आएका छन् । सामान्यतया स्वदेशी वाइनको शुरुवाती मुल्य ४ सय रुपैयाँ रहेको छ ।
विश्वमा अत्यधिक मात्रामा अंगुरबाट बनेको वाइनलाई रुचाइन्छ । त्यस्तो वाइनको हिस्सा विश्व बजारमा ८५ प्रतिशत रहेको व्यवसायीहरु बताउछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.