२०७५ वैशाख २३ गते १६:१८ विकासन्युज
काठमाडौं । एपेक्स डेभलभमेन्ट बैंकको घोटला काण्डमा काठमाडौं टावर निर्माणका प्रमुख मनोजकुमार भेटवाल पक्राउ परेपछि भ्यू टावरको काम रोकिएको छ । आन्तरिक कारण देखाउदै कम्पनीले १५ दिन अघिबाट काम रोकेको हो ।
आन्तरिक कारण देखाउँदै कम्पनीले काम रोकेको महानगरपालिका इजिपी प्रमुख महेश काफ्ले बताए । ‘हामी भ्यु टावरको काम अगाडी बढाउन निरन्तर दबाब दिइरहेका छौं, गत १५ दिन अघि बाट रोकिएको काम अब ७ हप्तापछि सुरु हुन्छ’ काफ्लेले विकासन्युसँग भने ।
कम्पनीले हालसम्म काम रोकिएको कुनैपनि कारण पेश नगरेको महानगरका सहप्रवक्ता नवराज ढकालले बताए । ‘कम्पनीले लामो समयसम्म काम अघि नबढाए महानगर चुप लागेर बस्दैन, सम्झौता अनुसार कम्पनीले काम अघि नबढाए, कानूनी प्रक्रिया अनुसार अघि बढ्ने महानगरका सहप्रवत्ता ढकालले भने ।’
कम्पनीले सरकारलाई निर्माणधिन अवधिमा वार्षिक ९० लाख बुझाउनु पर्ने र निर्माण भैसकेपछि वार्षिक ३ करोड बुझाउने सम्झौता गरेको छ । तर गत वर्षको महानगरलाई तिर्नुपर्ने ९० लाख तिरेको छैन् । भेटवाल पक्राउ परेपनि काम नरोकिने बताउदैं आएको कम्पनीले आर्थिक अभावका कारण काम रोकेको हो ।
यसअघि भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२।६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी बैशाख ५ गते पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्दै गएको छ ।
काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो ।
२०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.