२०७५ जेठ ९ गते १६:३१ पूर्णप्रसाद मिश्र
काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।
कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की-खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
असार दोस्रो सातासम्म कलङ्की-बाफल भागको ४०० मिटर ‘फिनिसिङ’ को काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । यो संगै कोटेश्वर-बल्खुपुल-कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमिको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
“कोटेश्वर-बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलङ्कीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ”-उनले भने ।
चिनियाँ युआन २१ करोड २० लाख रूपैयाँ अर्थात् नेपाली करीब पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।
दोस्रोचरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको किनारका संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
साउनसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । त्यस लगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज-कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.