महासंघ र चिनिया उद्यमी व्यवसायीबीच द्विपक्षीय भेटवार्ता, प्रविधिमा सहयोग गर्न आग्रह

  २०७५ जेठ १६ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चा चाओको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया उद्यमी व्यवसायीहरुबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका उपाध्यक्ष चा चाओ आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको बैठकको तयारी भेटघाटका लागि महासंघ आएका हुन् । उनका साथमा आएका प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा चिनिया लगानीका लागि सम्भाव्य क्षेत्रहहरुका विषयमा छलफल भएको छ ।

उक्त प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले लगानी गर्न महासंघले आग्रह गरेको छ । सो अवसरमा चिनिया पक्षबाट चीनको एक्जिम बैंकको कुइचाओ शाखा नेपालमा लगानी गर्न निकै सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालिम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार रहेको जानकारी गराइएको छ ।

भेटवार्तामा भएको छलफलमा आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा हुने नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको बैठकमा कृषि, पर्यटन, शिक्षा, उर्जा तथा पूर्वाधार लगायतका क्षेत्रमा छलफल गरिने प्रस्ताव समेत महासंघले गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले उक्त प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपालमा चीनको कुइचाओ प्रान्तसँग निकै धेरै सहकार्यका सम्भाव्यता रहेकाले लगानी, प्रविधि तथा विकासको मोडल लगायत कार्यमा सहयोग गर्न आग्रह गरिन् ।

भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चका सहसभापति रविभक्त श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहहरु, महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी, वरिष्ठ कर्मचारी लागयतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.