२०७५ जेठ २८ गते १८:३४ विकासन्युज
काठमाडौं । एनआइसी एसिया बैंकले सस्तो ब्याजदरमा घरजग्गालाई कर्जा दिने भएको छ । बैंकले घरजग्गा धितो राखेर ऋण उपलब्ध गराउने भएको हो ।
असार १ देखि ५ गतेसम्म राजधानीमा हुने घरजग्गा मेलाको प्रायोजन एनआइसी एसियाले गर्ने भएको छ । मेलाको तयारीबारे जानकारी दिदैं नेपाल जग्गा तथा आवास विकास संघले मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टलहरु रहने जनाएको हो ।
कार्यक्रममा संघका महासचिव मीनमान श्रेष्ठले सरकारले वर्षमा ३ पटकसम्म जग्गा कित्ताकाट गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा मान्यता प्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने नियमको स्वागत गर्दै यसबाट सरकारको कर असुलीमा सहयोग पुग्ने बताए ।
संघले अब थोरै आम्दानी हुनेहरुलाई पनि लक्षित गरी हाउजिङको विकास गर्ने तयारी गरेको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले बताए । घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामाग्री बिक्रेता तथा सेवा प्रदायक संस्थाहरुका लागि मेला साझा मञ्च बन्ने आयोजकले विश्वास लिएको छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले सयुक्त रुपमा गर्ने आयोजकले जनाएको छ ।नेपाल राष्ट्र बैंकले रियलस्टेटमा ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.