वीरगन्ज महानगरले ल्यायाे ४ अर्ब ९४ करोडकाे बजेट, वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार

  २०७५ असार १० गते १९:४८     विकासन्युज

काठमाडौ‌ं । वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।


वीरगन्ज नगर सभागृहमा आज महानगरपालिकाले आयोजना गरेको दोस्रो नगर परिषद्मा आगामी आवका लागि उपप्रमुख शान्ति कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आगामी आवका लागि चालूतर्फ रु एक अर्ब ४४ करोड ७९ लाख ९ हजार, पूँजीगत खर्चतर्फ रु तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थापनतर्फ रु एक करोड ५८ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ ।

चालू खर्चमा २९.१ प्रतिशत, पूँजीगत खर्चमा ७०.०६ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३ प्रतिशत बजेट विनियोजित गरिएको छ । पूर्वधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा व्यापारमैत्री नीति अवलम्बन गर्दै करका नयाँ दर लागू गरिएको महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिए ।

वडा सदस्यद्वारा कार्यक्रम बहिस्कार

महानगरको आव २०७५/७६ को बजेट, नीति तथा कार्यक्रमको १२७ मध्ये १०१ वडा सदस्यले बहिष्कार गरेका छन् । वडाध्यक्षले पाउने सेवा सुविधा सरह आफूहरुले पनि पाउनु पर्ने माग राख्दै कार्यक्रमको विरोध गरेको वडा नं ५ का वडा सदस्य सुरज कुर्मीले बताए ।

मासिक तलब रु १० हजार हुनुपर्ने, मासिक १० वटा बैठक हुनुपर्ने, औषधोपचार भत्ता, बीमा, मोटरसाइकल सुविधा, मासिक १० लिटर पेट्रोल तथा वडाको बजेटमा ६० प्रतिशत वडा सदस्यले खर्च गर्न सकिने गरी कार्यक्रम ल्याउन वडा सदस्यले माग गरेका छन् । हाल वडा सदस्यले प्रतिमहिना पाँचवटा बैठकमा भाग लिनुका साथै रु सात हजार मासिक तलब पाउँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.