२०७५ असार १३ गते ९:५५ विकासन्युज
काठमाडौं । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभिपीआरधारी कर्मचारीलाई तह लगाएपछि मोरङका लालबाबु पण्डितले राष्ट्रिय राजनीतिमा उचाई प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा काँग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका पण्डित अहिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् र स्थानीय तहमा कर्मचारी खटाएर वाहवाही पाईरहेका छन् ।
शालिन, भद्र र इमानदार राजनीतिज्ञको छवि बनाएका मन्त्री पण्डितले यतिबेला निर्वाचन पूर्वका आफ्ना प्रतिवद्धता कार्यान्वयनमा जुटिरहेका छन् । पाँच बर्षभित्र आफ्ना सबै प्रतिवद्धता पुरा गरेर अर्काे निर्वाचनमा विकासको फेहरिस्ता बोकेर जाने योजनासहित मन्त्री पण्डितले काम अघि बढाएको उनका स्वकिय सचिव वसिम आलम बताउँछन् । पण्डितको अगुवाईमा मोरङ क्षेत्र नम्बर ६ ले विकास निर्माणमा फड्को मार्दै गरेको दावी पनि आलमले गरे ।
पण्डितले बिराटनगर पुष्पलाल चोकदेखि बुढिगङगा गाउँपालिकाको कोहलपुर हुँदै गछियाँसम्म पुग्ने २२ किलोमिटर सडक चाँडै शिलान्यास गर्दैछन् । बुढिगङगाकै निमुवादेखि सरोचिया महेन्द्र मोरंङ क्याम्पस पछाडीबाट बग्ने पुरै नहरको सडकलाई कालोपत्रे गर्ने योजना पनि एक महिना भित्र शिलान्यस हुनेछ ।
समग्र बिराटनगरको दृष्यावलोकन गर्न मिल्ने भ्यु टावर निर्माण गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । पण्डितले निर्वाचनका दौरान भ्यु टावर निर्माणलाई उच्च प्राथमिकता दिने बताएका थिए । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ को फोकल्याण्ड टापुमा झोलुङगे पुल निर्माणको काम अघि बढिसकेको छ । पुलले टापुका नागरिकलाई बर्षायाममा हुने डुबानबाट मुक्त गराउनेछ ।
बुढिगङगाको सखुवाटोकीमा पनि झोलुंगे पुल निर्माणको काम सुरु भैसकेको छ । यसले बुढीगंगा र सुनसरीको दुहवीलाई जोड्नेछ । सुन्दरहरैँचा वडा नम्बर ३ स्थीत लोचनी सडक खण्ड अन्तर्गत रहेको पुलदेखि पश्चिम गछिया खोलामा तटबन्ध निर्माणको काम पनि सुरु भएको छ । सुन्दरहरैँचा ४ कै सरिगुवा टोल पश्चिम बुढिगङगा खोलामा पनि तटबन्ध निर्माण आरम्भ भैसकेको छ ।
सुन्दरहरैँचा ५ स्थीत फोकल्याण्ड टापुमा तटबन्धको काम पनि आरम्भ भैसकेको छ । सुन्दरहरैँचा ६ स्थीत स्कुल डाँडा टोल पुर्व पनि तटबन्ध निर्माण सुरु भएको छ । बुढीगंगा वडा नम्बर २ स्थीत मुस्लिम टोल उत्तरमा बाँध निर्माण सुरु भएको छ । मन्त्रि पण्डितले केहि दिन अघि मात्रै बिभिन्न विद्यालयका ३१८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई २ जोर कपडा, जुत्ता, ब्याग, कापी कलम लगायतका समाग्री वितरण गरिसकेका छन् ।
त्यस बाहेक दृष्टि बिहिनहरुलाई स्टिक वितरण भैसकेको छ भने ६० जना अपाङगहरुलाई ह्विल चियर निर्माणको काम सुरु भएको छ ।
सुन्दरहरैँचास्थित शेषनारायण धाम क्षेत्रमा पक्की पुलको निर्माण पनि आरम्भ हुँदैछ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री पण्डितले आगामी पाँच बर्षभित्र मोरङ क्षेत्र नम्बर ६ ले मुहार फेर्ने दावी गर्दै आएका छन् । संघिय सरकारको मन्त्रीका रुपमा देशभरका नागरिकको काम गर्नुका साथै उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिक सामु गरिएको प्रतिवद्धताहरु पुरा गर्न कुनै कसर बाँकी नराख्ने आलमले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.