कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

  २०७५ असार १९ गते १९:३५     विकासन्युज

काठमाडौं । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर-बल्खुपुल-कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । कोटेश्वर-बल्खुपुल-कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमीको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ ।

चिनियाँ युआन २१ करोड २० लाख रुपैयाँ अर्थात् नेपाली करिब पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलब पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै डिजाइन तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज-कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।

यसअघि आयोजनाले असार दोस्रो सातामै अण्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.