२०७५ असार २१ गते १४:२८ विकासन्युज
काठमाडौं । नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडले बिहीबा(आज)देखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसि मल, सुन्धाराबाट सेवा शुभारम्भ गरेको छ ।
कम्पनीका अध्यक्ष बिनोद बिष्टले सबै संस्थापक सेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
मिति २०६४/१२/२० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको यस कम्पनीले मिति २०७४/०१/१५ गते बसेको विशेष साधारण सभाको बैठकको निर्णय अनुसार पुँजी वृद्धि गरेको छ । कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पुँजी बृद्धि गरिएको इन्स्योरेन्सले जनाएको छ ।
नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको छ ।
हाल कम्पनीको संस्थापक सेयरधनी समुहमा १०४ जना संस्थापक सेयरधनीहरु रहेका छन् भने यस कम्पनीको प्रथम संचालक समितिको अध्यक्षमा बिनोदप्रसाद बिष्ट, संचालकमा मिनबहादुर गुरुङ्ग, आजाद श्रेष्ठ, राजेन्द्रप्रसाद कायस्थ, सागर गुरुङ्ग रहेका छन् । बैद्यनाथप्रसाद उपाध्याय कम्पनी सचिव रहेका छन् ।
यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा विगत दुई दशक भन्दा बढिको अनुभव प्राप्त कुमारबहादुर खत्रीले यस कम्पनीको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् ।
यस कम्पनीले नेपाली बीमा बजारमा विभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यकता पहिचान गरी नयाँ बीमा योजनाहरु ल्याउने निर्णय गरेको छ । साथै, देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.