२०७५ असार २४ गते १६:४१ विकासन्युज
काठमाडौं । खेर गएर वातावरण प्रदूषण पार्ने इण्डष्ट्रियल वेष्टजको पुनः प्रयोगबाट एउटा कारखानाले वार्षिक करिव १५ लाख रुपैयाँं वचत गर्ने गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ को जगाती हनुमानचास्थित गोर्खा इको प्यानलले निर्माण सामाग्रीको उत्पादनपछि निस्कने इण्डष्टियल वेष्टेजलाई पुनः प्रयोग गरी खोलानालाको प्रदूषणलाई समेत जोगाएको हो ।
धेरै उद्योगहरुले वातावरण प्रदूषण गरिरहेको बेला गोर्खा इको प्यानलले उद्योगबाट निस्केको इण्डष्टियल वेष्टेज (खेर जाने सामाग्री) को पुनः प्रयोग गरी उदाहरणीय काम गरेको हो ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले नजिकै हनुमन्ते खोला भए पनि खोलामा कुनै वेष्टेज नपठाई पुनः प्रयोग गर्ने गरेको जनाए । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नारालाई आत्मसाथ गरी वातावरण तथा खोलानालामा कुनै प्रतिकुल असर नपर्ने गरी कारखाना सञ्चालनमा ल्याएका हौं, सीईओ दुवालले भने, लामो अध्ययन अनुसन्धानपश्चात पूर्ण वातावरणमैत्री इको प्यानल उत्पादनमा ल्याएका हौ ।’
ख्वप कलेज वातावरण विज्ञानमा स्नाताकोतर अध्ययन गरेका सन्ध्या थापाले गरेको अनुसन्धान अनुसार एक वर्ग फिट इको प्यानल उत्पादन गर्दा एक दशमलब ८७ मेगाजुल उर्जा खपत हुन्छ भने अरु परम्परागत निर्माण सामाग्री त्यही मात्रामा उत्पादन गर्दा ४४ दशमलब ३ मेगाजुल उर्जा खपत हुन्छ ।
त्यस्तैगरी एक वर्गफिट इको प्यानल उत्पादन गर्दा ८१ ग्राम कार्वोनडाइअक्साईड निस्किन्छ भने त्यही मात्रामा अरु सामाग्री उत्पादन गर्दा ८३८ ग्राम कार्वाेनडाइअक्साईड निस्कन्छ । काठमाडौं विश्वविद्यालयमा वातावरण इन्जिनियरिंग अध्ययन गरेका दिक्षा ढकालले गरेको अनुसन्धान अनुसार अन्य निर्माण सामाग्री भन्दा इको प्यानल उत्पादन गर्दा सल्फरडाइअक्साईड सात गुणा कम मात्रै निस्किन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.