टेलिकमले ल्यायो प्रमोसनल अफर, एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

  २०७५ साउन १८ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवाको आरम्भको अवसरमा ३ महिनाको लागि प्रमोसनल अफर ल्याएको छ । उक्त अफरको रुपमा कम्पनीले यही साउन १० गतेदेखि कात्तिकसम्म कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरेको छ ।

टेलिकमले वितरण गरिरहेको एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । आईपी बेस प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा(हाई स्पीड इन्टरनेट) का साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ ।  यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने छ ।

हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै, कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले(भ्वाइस, हाई स्पीड इन्टरनेट, भिडीयो) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुन्छ ।

कम्पनीले एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.