बीमा कम्पनीको तलब, सुविधा र बोनस बीमा कम्पनी कै हातमा

  २०७५ भदौ २९ गते १८:३१     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित सबै कर्मचारीको तलब, सुविधा र बोनस निर्धारण गर्ने तथा वितरण गर्ने सबै अधिकार सम्बन्धित बीमा कम्पनीलाई नै प्रदान गरिएको बताएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ कार्यालय उद्घाटन कार्यक्रमपछि सो कम्पनीको कर्मचारी र सञ्चालकहरुलाई सम्बोधन गर्दै उनले भने- ‘तपाईहरुको तलब, सुविधा र बोनस यति हुनुपर्छ भनेर बीमा समितिले भनेको छैन । तपाईहरुको मिहेनत अनुसार, तपाईहरुले आफैले निर्धारण गरेअनुसार हुनेछ । तपाईले नै बनाएको आर्थिक विनियमावली बीमा समितिले स्वीकृत गर्छ । विनियमावली अनुसार काम भए नभएको मात्र बीमा समितिले जाँच गर्छ ।’

बीमा समितिले कम्पनीहरुको सुशासनलाई विशेष जोड दिएको उनले बताए । कम्पनी ऐन, बीमा ऐन, बीमा समितिले जारी गरेको निर्देशनहरु र कम्पनी आफैले बनाएको प्रबन्धपत्र, नियमावली अनुसार कम्पनी चलाउन उनले आग्रह गरे । ‘व्यवसाय सकेसम्म धेरै गर्नुहोस्, बीमा समितिले सहयोग गर्छ । व्यवसाय कम भयो भनेर बीमा समितिले कारवाही गर्दैन । तर कम्प्लायन्स पाटो ठिक छैन भने बीमा समितिले छोड्दैन’ उनले भने ।

नेपाल इन्स्योरेन्सले पुरानो भवन भत्काएर नयाँ भवन बनाउने क्रममा कमलादीस्थित हामा कम्प्लेक्समा केन्द्रीय कार्यालय स्थान्तरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले व्यवसाय थालेको ७२ वर्ष भएको छ ।

१८ पटक सगरमाथा आरोहण गरेको सहासी आरोही निमा गोम्बु शेर्पाको घरको बीमा गरेर नयाँ कार्यालयबाट बीमा पोलिसी बिक्री शुरुवात गरिएको नायव महाप्रबन्धक बिक्रान्त पाण्डेले जानकारी दिए । कम्पनीले ३३ शाखा र २४ वटा बीमा सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.