२०७५ असोज ५ गते १०:१३ विकासन्युज
काठमाडौं । सञ्चालनमा आएको ९ महिनामा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । युनियनले गत वर्ष असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सुरु गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चालु आर्थिक वर्षको २ महिनामा २२ करोड रुपैयाँ थप बीमाशुल्क संकलन गरेको छ । हालसम्म ८२ हजार बीमालेख जारी गरेको कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीको जीवन बीमा कोष ३७ करोड ३० लाख रुपैयाँ पुगेको छ । कारोबारलाई आधार मान्दा कम्पनीको वित्तिय अवस्था मजबुत रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले बताए ।
बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढी शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् । थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा रहेको सीईओ कर्णले जानकारी दिए । २ अर्ब १५ करोड जारी पूंजी रहेको युनियनमा १० प्रकारका बीमा योजनाहरु रहेका उनले सुनाए ।
कर्णका अनुसार कम्पनीले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजीवन जीवन बीमा योजना, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजिवन) जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ ।
यस्तै बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।
कम्पनीकोको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, सन्दीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल छन् । मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.