२०७५ असोज १२ गते १२:३५ विकासन्युज
काठमाडौं । अमेरिकी डलर महंगो भएपछि चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ । गत साउनमा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । डलर महंगो भएका कारण विप्रेषण बढेको हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३५.३ प्रतिशतले वृद्धि भई ८४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.७ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.