२०७५ कार्तिक १४ गते १६:५८ विकासन्युज
काठमाडौं । स्याफ्रुबेसी-रसुवागढी सडकको काम अघि बढेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने १५.७ किलोमिटर लामो स्याफ्रुबेसी-रसुवागढी सडकमा कालोपत्रे गर्ने सम्बन्धी काम अघि बढेको हो ।
२ लेनको सडक निर्माणका लागि चीन सरकारले ५ अर्ब ५७ करोड नेपाली रुपैँया खर्च गर्नेछ । नेपाल सरकारले सडक विस्तारका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउनेछ ।
सो सडकलाई दुई लेनमा स्तरोन्नति गरेर कालोपत्रे गर्ने सम्बन्धी सम्झौता सन २०१७ को मे १३ तारिखमै भएको थियो । आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता भने २९ अक्टोबरका दिन भएको हो ।
सन २०१९ को मे १ तारिखदेखि चिनियाँ कम्पनीले सडक स्तरोन्नतिको काम थाल्नेछ । निर्माण कार्य आरम्भ भएको ३ बर्ष ३ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक निर्माणमा चीन सरकारले उपलब्ध गराउने रकम अनुदानको हो ।
७ मिटर चौँडाईको सडकमा ०.७५ मिटरको पर्खाल, आकाशे पानी व्यवस्थापन, सडक सुरक्षा, पहिरो नियन्त्रण, नदि नियन्त्रण लगायतका संरचना निर्माण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.