२०७५ मंसिर ९ गते १६:२३ विकासन्युज
काठमाडौं । चियाका प्रसिद्ध इलाममा धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि किसान चिया उद्योग स्थापना गर्न लागेका छन् ।
आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानले बताए। उद्योग स्थापना गर्ने लहर चलेपछि एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् ।
इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेती लागेका छन् ।
चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् ।
चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग संचालनमा रहेदैँ आएका छन् ।
केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न थालेको बताएका छन् ।
किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन् साथै ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैं उद्यमी बन्न प्रेरित भएको बताएका छन् । नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.