सूर्य नेपालका लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश, ५ अर्ब ५६ करोड विदेशिदै

  २०७५ मंसिर १८ गते १६:०४     विकासन्युज

काठमाडौं । सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाटसम्मानित भएको सूर्य नेपालले लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५को नाफाबाट सेयरधनीलाई ४५३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर तिरेरको भन्दै यस कम्पनीलाई सरकारले गत मंसिर १ गते सम्मान गरेको थियो । यो कम्पनी हरेक वर्ष नै बढी कर तिर्ने कम्पनी मध्येबाट सम्मानित हुँदै आएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । कम्पनीले लाभांश स्वरुप लगानीकर्तालाई ९ अर्ब १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ ।
यस कम्पनीमा ६१ प्रतिशत लगानी विदेशी छ भने ३९ प्रतिशत नेपालीको छ । लाभांश वाफत यस कम्पनीको प्रवद्र्धक भारतको आईसीटी लिमिटेड ५ अर्ब ५६ करोड रुपैयाँ पाउने छ भने ३ अर्ब ५५ करोड रुपैयाँ नेपाली लगानीकर्ताले पाउने छन् ।

सूर्य नेपालले प्रवद्र्धक आईसीटी इन्डियालाई लाभांश भुक्तानी दिन करिव ५ अर्ब ५६ करोड रुपैया बराबरको विदेशी मुद्रा सटही सुविधा मागेको छ । लाभांश वाफत सटही भुक्तानी माग गर्ने एनसेलपछि सूर्य नेपाल दोस्रो ठूलो कम्पनी हो ।

विदेशी मुद्रा संचिति घट्दो क्रममा रहेको बेलामा नेपाल सरकारका लागि ठूला र अधिक नाफा गर्ने कम्पनीहरुलाई विदेशी मुद्रामा लाभांश भुक्तानी दिने कार्य चुनौतिपूर्ण बन्दै गएको छ ।

सूर्य नेपालले नेपालको चुरोट बजारमा ९० प्रतिशत भन्दा बढी बजार लिएको छ । पछिल्लो समयमा कम्पनीले सलाई, धुप उद्योगमा लगानी विस्तार गरेको छ । यस कम्पनीले विदेशी ब्राण्डका तयारी कपडाको आयात समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.