२०७५ पुष ६ गते १८:३८ नारायण ढुङ्गाना
काठमाडौं । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण सेयरधनी आक्रोषित भएका छन् ।
महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि सेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले शुक्रबार(आज) राजधानीमा २३औँ वार्षिक साधारणसभामा आव २०७३/७४को मात्रै प्रतिवेदन पेश गरेको छ ।
उक्त प्रतिवेदनमाथि टिप्पणी गर्दै सेयर सदस्य जयन्द्र बानियाँले नागरिक लगानी कोषको हिसाबमा भद्रगोल देखिएको भन्दै संलग्न व्यक्तिलाई कारवाहीको माग गरेका छन् । “लगानीको हिसाब यकिन छैन, बैंकको ब्याज चुस्त छैन, आफ्नै संस्थाको योजना र लगानी विभागकै हिसाब फरक छ, यो कसले हेर्ने, उनीहरुलाई कारवाही नगरे कसलाई गर्ने”, उनले आक्रोश पोखेका छन् ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७३/७४ मा नागरिक लगानी कोषले अधिकांश काम प्रक्रियागत रुपमा देखिएको छैन । कोषले भौतिक सम्पत्तिको परीक्षणसमेत नगराएको र जोखिम कम हुने लगानीका क्षेत्र पहिचान गर्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।
कोषको लेखातर्फको अभिलेखानुसार १२ योजनामा आव २०७३/७४ मा कूल ७१ अर्ब ४५ करोड रुपैयाँ लगानी रहेकोमा लगानी विभागको अभिलेखमा ६५ अर्ब २२ करोड रुपैयाँ मात्र देखिएकाले यकिन गरी फरफारक नगरेको प्रतिवेदनमा उल्लेख छ । लगानीमा अख्तियार प्राप्त अधिकारीबाट स्वीकृत गराउनुपर्नेमा सञ्चालक समितिको निर्णयको आधारमा लगानी गरेको पाइएको छ । सेयर लगानीको समेत अध्यावधिक नगरेको तथा मुद्दती निक्षेपमा लगानी रकम भिडान नगरेकाले योजना र लगानी विभागको विवरणमा पाँच अर्ब ७२ करोड रुपैयाँ फरक परेको देखिएको छ ।
यस्तै ब्याज असुलीमा ध्यान नदिएको र समस्याग्रस्त बैंकबाट पाउनुपर्ने ब्याज ६१ करोड ९९ लाख रुपैयाँ असुलउपर गर्नसमेत ध्यान नदिएको उल्लेख छ । कोषको ४० बैंक खातामा लेजर हिसाबमा मौज्दात ४३ करोड ८२ लाख रुपैयाँ देखिएको र बैंक स्टेटमेन्टमा एक अर्ब १० करोड १७ लाख रुपैयाँ देखिएकाले ६६ करोड ३५ लाख रुपैयाँ फरक रहेको देखिएको छ ।
विभिन्न योजनामा बैंक हिसाब मिलान विवरण तयार नगरिएको र भएकामा पनि ठूलो भिन्नता रहेकाले कार्यसम्पन्न नगर्ने पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार बनाउन विगतमा भनिएपछि समस्या दोहोरिएको पाइएको छ । अन्तरशाखा लेनदेन हर हिसाब फछ्र्यौट नगरेको, कोषको फण्ड खाता सञ्चालनमा विनियमावलीभन्दा फरक किसिमले कारोवार गरेको पाइएकाले उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.