सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर माथि

  २०७५ पुष १५ गते १४:३३     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ ।

संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६०० अर्ब डलर पुगेको छ ।

एसियाको चौथो सर्वाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६.१ प्रतिशतको हाराहारीमा रहेको छ । कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो ।

मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पुर्याउन झण्डै २३ वर्ष लागेको जनाएको छ । विश्वका सात सर्बाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये चौथो रहेको कोरियामा औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको छ ।

विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ ।

अर्को वर्ष, विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ । जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा अर्थतन्त्रमा केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ, मन्त्रालयको विज्ञप्तिमा उल्लेख रहेको छ । तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्नेगरी योजना बनाइरहेको छ । रासस, योनहाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.