२०७५ पुष २४ गते १४:३६ विकासन्युज
काठमाडौँ । कम्प्युटर एशोसियशन नेपाल महासंघ(क्यान महासंघ) को आयोजनामा माघ १५ देखि २० गतेसम्म क्यान इन्फोटेक २०१९ हुने भएको छ । क्यान महासंघले आज पत्रकार सम्मेलन मार्फत क्यान इन्फोटेक आयोजना सम्बन्धी जानकारी गराएको हो । काठमाडौँको भृकुटी मण्डपमा माघ १५ देखि २० गतेसम्म ६ दिन हुने मेलालाई सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोशियशन विथ इ–सेवा नाम दिइएको छ ।
नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको आयोजकले बताए ।
मेलामा प्रत्येक ३–३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।
सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कूल १७५ वटा स्टल रहने छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र बिधार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट हुने क्यान महासंघका महासचिव रञ्जीतकुमार पोदारले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.