२०७५ पुष २६ गते २२:०५ भरतराज आचार्य
नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्य उदाउँदा उद्यमी हुन् । पहिलो पुस्ताका सफल उद्यमी आचार्यले टीएसएन विजनेश ग्रुपका कार्यकारी अध्यक्ष हुन् । टीएसएन ग्रुपले उत्पादनमूलक उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि, पर्यटन, व्यापार क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । उत्पादनमूलक कम्पनीका कच्चा पदार्थ र प्याकेजिङ सामाग्री उत्पादनमा यस ग्रुप अग्रणी स्थानमा छ ।
उद्यमशीलताको लागि नेपाली भूमि उर्वर छ । विगतमा नीतिगत कमजोरी भए, परिस्थिति प्रतिकूल भए । सीमित व्यक्तिले मात्र उद्योग, व्यापार, व्यवसाय गर्न लाईसेन्स पाए । देशको विकास, उपभोक्ताको माग अनुसार उत्पादन हुन सकेनन् । आयातित बस्तु तथा सेवाले नेपाली बजार लियो ।
परिस्थिति परिवर्तन भएको छ । उद्यमशीलताप्रति नेपालीहरुको रुचि र सक्रियता बढेको छ । बजारको अध्ययन, विश्लेषण हुन थालेको छ । सरकारले पनि उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने नीति लिएको छ । अब ठूलो जनसंख्या उद्यमशीलतातर्फ समाहित हुन सक्छ ।
नेपाल आयातमुखी अवस्थाबाट ग्रसित छ । आयात भएका वस्तु तथा सेवा हामी कहाँ नै उपभोग हुन्छन् । ती बस्तु उत्पादन आन्तरिक रुपमै गर्ने हो भने कति उद्यमी र उद्यम गृहहरुको जन्म हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ ।
‘पर्यटन’ नेपालको अथाह सम्भावना भएको क्षेत्र हो । यो नेपालको निरन्तर रहिरहने एउटा सम्पदा हो । नेपालमा भएका जुनसुकै सम्पदापनि पर्यटन विकासको लागि उपयुक्त हुन्छ, चाहे त्यो साहसिक पर्यटन होस्, चाहे त्यो प्राकृतिक र आरामदायी पर्यटन वा धार्मिक वा सांस्कृतिक पर्यटन नै किन नहोस् ? हामीले हाम्रा प्राकृतिक स्रोतहरुको समेत राम्रोसँग परिचालन गर्न सकेका छैनौं । यसको प्रयोग हाम्रो जस्तो देशमा एकदमै कम छ । त्यसैले नेपालको भूमि समग्रमा उद्यमशीलताको लागि उर्वर ठाउँ हो ।
प्रश्न उठ्न सक्छ कि नेपाली भूमि उर्वर हो भनेर कूल गार्हस्थ उत्पादनमा नेपाली उद्योगको हिस्सा किन ५/६ प्रतिशत मात्र ? नेपालमा उद्यमशीलताको व्यापकता २०४९ मात्र शुरु भएको हो । त्यस अघिसम्म नेपालमा नेपालीहरुले नै उद्यम गर्ने वातावरण नै थिएन । २०४९ सालमा प्रविधि हस्तान्तरण ऐनले मात्र नेपाली नागरिकले कुनैपनि कम्पनी स्थापना गर्नसक्ने प्रावधान बनायो । तर विगत २०/२२ वर्षदेखि हामी समकालीन आर्थिक परिस्थिति उद्यमशीलताका लागि अनुकूल रहेन । सन् १९९६ देखि २००६ सम्म करिब १० वर्षजति हामीले आन्तरिक द्वन्द्व व्यहोर्यौं । द्वन्द्व सकिएलगत्तै औद्योगिक अशान्तिको वातावरण सिर्जना भयो । यसले गर्दा मजदुर र कामदारबीचको श्रम सम्बन्ध खल्बलियो । सन् २०१० देखि २०१६ को अवधिमा हामीले उद्योग सञ्चालनको लागि पूर्वशर्त मानिने उर्जा संकटको कहाली लाग्दो समस्या व्यहोर्यौं, दैनिक १८ घण्टासम्म लोडसेडिङ व्यहोर्नु पर्ने अवस्था सिर्जना भयो । सन् २०१६ पछि नेपालको अर्थतन्त्रमा तीव्रता आउन शुरु भएको छ । तर, आर्थिक वृद्धिको व्यवस्थापन उपयुक्त किसिमले हुन नसक्दा र त्यसको सही विश्लेषण हुन नसक्दा अहिले लगानी गर्ने पूँजीको अभाव हुने अवस्थामा पुगेका छौं ।
एकातिर नेपालको उद्यमशीलता यस्ता समस्याहरुबाट गुज्रेर आएको अवस्था रह्यो भने अर्कोतर्फ हाम्रो आन्तरिक आयामहरुका कारण उद्यमशीलताप्रतिको आकर्षण अझैपनि कम नै छ । यसले गर्दा यो क्षेत्र विकास हुन सकेन । अहिले देशमा राजनीतिक स्थिरतामात्रै आएको छैन । राजनीतिक संक्रमणको अन्त्यपछि देशको समृद्धिको मुख्य आधार आर्थिक विकास रहेको र त्यसका लागि उद्यमशीलता प्रवद्र्धनमा सरकारले सक्रियता देखाएको छ ।
अर्कोतर्फ प्रविधिको विकास, कनेक्टिभिटी जस्ता बाह्य तत्वहरुमा ठूलो सुधार हुँदै आएको छ । हामी वित्तीय रुपमा सक्षम भयौं भने विश्वमा प्रचलनमा रहेका जुनसुकै प्रविधिलाई ट्रान्सफर गर्नसक्ने भएका छौं । पहिले जस्तो जी टू जी मोडलको टेक्नोलोजी ट्रान्सफरको सिस्टम अब रहेन ।
अर्को पक्ष भनेको के हो भने विश्वका विकसित राष्ट्रहरु उद्यमशीलताको चरम विन्दुमा छन् । उनीहरुको उद्यमशीलता विकासको सम्भावना एक प्रकारले सकिइसकेको छ । त्यस्तो अवस्थामा अबको सम्भावना भनेको नेपालजस्ता अल्पविकसित तथा विकासशील देशहरु नै हुन्, यसले गर्दा नेपालमा केही सम्भावनाहरु देखिएका हुन् । नेपालमा उपभोग्य वस्तु तथा सेवाको प्रयोगको दर बढ्दै गएको छ । तर त्यसअनुसार उत्पादन भने हुन सकेन । यसले उद्यमशीलताको सम्भावना अझै बढाएको छ ।
प्रोफिट सेलिब्रेसन
नेपालमा उद्यमशीलताको अवधारणागत अवरोध कायम छ । एउटा उद्यमीले सरकारी नीति नियमभित्र रहेर बढीभन्दा बढी नाफा गर्छ भने उसलाई प्रोत्साहन गर्नुपर्छ । त्यसको सट्टा नेपालमा नाफा नै गलत हो भन्ने प्रणाली हावी छ । उद्यमशीलताको उद्देश्य भनेकै व्यवसायको निर्माण हो र यसको लक्ष्य भनेकै नाफा आर्जन हो । जबसम्म नेपाली समाजले उद्यमीले गरेको नाफालाई सकारात्मक रुपमा लिन सक्दैन, नेपाली उद्याशीलता कहिँकतै अल्झिरहेकै हुन्छ । नाफा बिना त हामी व्यवसायको कल्पना नै गर्दैनौं । त्यसैले सर्वप्रथम प्रोफिट सेलिब्रेसनको अवस्था कायम हुनुपर्छ । यो व्यवस्था राज्यले बनाउनु पर्छ र समाजले त्यसलाई स्वीकार गर्नुपर्छ । सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, मिडिया र गैरसरकारी संघसंस्थाहरु सबै उद्यमीको नाफामा खुशी हुने वातावरण बन्नुपर्छ ।
भारतीय भूमिमा जब इष्ट इण्डिया कम्पनी सरकार बन्यो, त्यो सरकारको आधार भनेकै उद्यमशीलतामा अडिएको थियो । उसको शासनको आधार भनेकै उद्यमशीलता थियो । उनीहरुले व्यापारमार्फत् सबल हुँदै राज्यसत्ता कब्जा गर्न सफल भए । देशको शासनसत्तासँग जब व्यापारलाई जोडियो तब यो राज्यको केन्द्रविन्दुमा पर्न सफल भयो तर नेपालको राजनीति भने वर्ग केन्द्रित भयो । धेरै कमाउनेहरुले नकमाउनेहरुलाई नाफा बाँड्नुपर्छ भन्ने कुरा जबरजस्त रुपमा हावी भयो । यसले गर्दा उद्यमशील व्यक्तिहरुमा चरम निराशाको अवस्था सिर्जना गरेको अवस्था देखिन्छ । यसैले नेपालीहरुमा जागिरे मानसिकता हावी रहँदै आएको हो । जोखिम कम लिने र निश्चितता बढी खोज्ने प्रवृत्ति विद्यमान छ ।
राजनीतिक प्रवृत्तिको कुरा गर्ने हो भने नेपालमा खासगरी दुईथरी विचार छन् एउटा समाजवादी र अर्को साम्यवादी । विचार साम्यवादी भएपनि व्यवहार भने उनीहरुको पनि समाजवादी नै छ । यस्तो अवस्थामा कुनैपनि राजनीतिक दलहरु पूँजीवादी अर्थतन्त्रमा केन्द्रित छैनन् । यस्तो अवस्थामा आर्थिक विकासको पूर्वशर्तको रुपमा रहेको पूँजी निर्माण तीव्र रुपले हुन सकेको छैन । पूँजी निर्माण हुने नाफाबाट हो । उच्च नाफाप्रति प्रशंसा गर्नसक्ने राजनीतिक नेतृत्व नभई देश समृद्ध हुन्न ।
समयको स्वतन्त्रता र वित्तीय स्वतन्त्रता
एकजना प्रतिष्ठित अर्थशास्त्रीले भनेका छन्–कुनैपनि मान्छेले २ कारणले उद्यमशीलतालाई अँगाल्छ । एउटा टाइम फ्रिडम (समयको स्वतन्त्रता) र अर्को फाइनान्सियल फ्रिडम (वित्तीय स्वतन्त्रता) । समय स्वतन्त्रताले आफूले आफ्नो समय व्यवस्थापन गर्ने स्वतन्त्रतालाई जनाउँछ । त्यस्तै वित्तीय स्वतन्त्रताले आफ्नो सम्पत्तिको उचित व्यवस्थापन गर्ने स्वतन्त्रतालाई जनाउँछ । उद्यमशीलता, चाहे त्यो जुनसुकै प्रकृतिको होस्, त्यसले तपाईँ हामीलाई यी २ कुराको प्रत्याभूति गर्छ । त्यहीभित्र उद्यमीको जीवनको रोमाञ्चकता भेटिन्छ ।
यस कारण तनाव
उद्यम गर्दैगर्दा तपाईँको सफलतासँगै तपाईको स्वामित्व र दायित्व बढ्दै जान्छ । त्यसैले सफलताको खातिर तपाईँलाई चिन्तापनि भइरहन्छ । उद्यमीहरुले सधैं त्यही पीडा र रोमाञ्चकताबीचको बाटोमा गुज्रनु पर्ने हुन्छ ।
नेपालका अधिकांश उद्यमीहरु अहिले पहिलो पुस्ताको चरणमा छन् । उद्यमीहरुको संरक्षण गर्ने उद्यमशील समाजको विकास अझै हुन सकेको छैन । यस्तो अवस्थामा उद्यमीहरुले हरपल आफूलाई जोखिमपूर्ण देख्नुपर्ने बाध्यता छ । नयाँ उद्यमीले एउटा मात्र क्षेत्रबाट आफ्नो लगानी र उद्यमशीलता शुरु गरेको हुन्छ, जसमा सफल हुनै पर्ने बाध्यता उसलाई हुन्छ । तर, दोस्रो पुस्ताका उद्यमीहरुले आफ्नो लगानी विविधिकरण गरिसकेको अवस्था भएको हुनाले उनीहरु आफ्नो असफलताप्रति बढी चिन्तित हुँदैनन् ।
नेपाली उद्यमशीलता अहिले संरक्षित अर्थतन्त्र र प्रतिस्पर्धी अर्थतन्त्रको बीचमा छ । तर, अहिलेको अवस्थामा पुराना घरानाका उद्यमीहरुलाई पनि बदलिँदो प्रतिस्पर्धा, प्रविधि, गुणस्तर एवम् समग्र व्यवसायिक परिस्थितिअनुसार व्यवसायलाई अघि बढाउनुपर्ने चुनौती भने कायमै छ । त्यसबाहेक पनि नेपाली अर्थतन्त्रमा दुई दशक अघिदेखि जारी समस्याहरुको कारणपनि व्यवसायीहरु उत्साहित भन्दा दवाव बढी महसुश गरेको देखिन्छन् ।
उद्यमीमा हुनै पर्ने गुणहरु
नेपालमा उद्यमी बन्न सर्वप्रथम जुनसुकै परिस्थिति, स्तर र व्यवहारमा पनि घुलमिल हुन सक्नुपर्छ । विलासी एवम् समृद्ध रुपमा जीवन बिताउनु भएको छ भने पनि उद्यमशीलता अँगालेपछि ग्राउन्डफ्लोरलाई बुझ्न सक्ने बन्न सक्नुपर्छ । नीतिगत अस्थिरता र प्रशासनिक झन्झटलाई सामना गर्नसक्ने क्षमता विकास हुनुपर्छ । यस्तो अवस्थामा उद्यमीले बनाएका योजनाहरु लचक खालको र परिपक्व नहुँदै परिवर्तन गर्न सक्ने खालको हुनुपर्छ । बललिँदो विधि र प्रक्रियालाई स्वीकार गर्न सिक्नुपर्छ, सक्नुपर्छ ।
उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू
Copyright © 2024 Bikash Media Pvt. Ltd.