२०७५ माघ ३ गते १६:०३ विकासन्युज
काठमाडौं । सरकारले भारतसँग रेल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भारत सरकारसँग जी टु जी सम्झौता गरेर रेल खरिद गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले रेल खरिद गर्ने अख्तियारी दिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले जानकारी दिए ।
भारत सरकारको अनुदानमा निर्माण भएको बिजलपुरा जनकपुर कुर्ताको ३५ किलोमिटर खण्डका लागि सरकारले रेल खरिद गर्ने निर्णय गरेको हो ।
नेपालले आफ्नै झण्डा सहित रेल गुडाउन लागेको हो । रेलमा चालक तथा प्राबिधिक भने भारतीय हुनेछन् । नेपाली प्राबिधिकहरुले रेल सञ्चालनको ज्ञान हासिल गरिसकेपछि नेपालले आफैं गुडाउनेछ । सरकारले चालु आर्थिक बर्षको बजेटमा रेल खरिदका लागि ४८ करोड बजेट विनियोजन गरेको थियो । नेपालले भारतसँग २ वटा इञ्जिन खरिद गरेर ३५ किलोमिटर खण्डमा रेल सञ्चालन गर्न लागेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.