यसपालीको भ्यालेन्टाइन डे महंगो हुने, एउटा गुलावकै १०० रुपैयाँ

  २०७५ माघ ११ गते ९:०७     विकासन्युज

काठमाडौँ । यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपैंयाँसम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० रुपैंयाँसम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.