डा. भेषबहादुर थापाको प्रश्नः ईपीजी प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ?

  २०७५ माघ ११ गते १५:१९     विकासन्युज

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल-भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए । नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।

एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए । उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा ईन्कार गर्ने चेतावनी दिए । उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.