पब्लिक स्पीकर नेपाल २ मा प्रथम भए धरानका रमेश प्रसाईँ

  २०७५ माघ १२ गते १२:१३     विकासन्युज


काठमाडौँ । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी  वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेका साथै पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो ।

माघ ११ गते पब्लिक स्पीकर नेपाल २ को अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करिब ११०० युवाका माझबाट छनौटमा पर्न सफल ६ जना युवाहरुले आफ्नो सशक्त प्रस्तुति प्रदर्शन गरेका थिए ।

अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्ववलविक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गले निर्णायकहरु तथा मुख्य आयोजक समितिको निर्णयका आधारमा कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकूरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् ।

पब्लिक स्पीकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा अन्ततः धरानका रमेश प्रसाईंले बाजी मारे र पब्लिक स्पीकर नेपाल २ को विजेता घोषित भए । प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधाको विजेता समेत रमेश नै बने ।

त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकूरले द्वीतिय उपविजेताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ग्रान्ड फिनाले पश्चात सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख रुपैयाँ, दुई लाख रुपैंया र एक लाख लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका निर्माता तथा आयोजक एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै, पब्लिक च्वाइस अवार्ड विधाका विजेताको निर्धारण भने जनताबाट प्राप्त मतको आधारमा गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.