२०७५ माघ १२ गते १२:५५ विकासन्युज
दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताएका छन् । योजना बनाउँदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । दोलखाको भीमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अब काम गर्ने शैली पनि परिबर्तन गर्नु पर्ने बताए ।
बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताए । उनले भने–‘ परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले शुरु गरिसकेको छ ।’
मुख्यमन्त्री पौडेल अगाडि थपे-‘ हामी काममा बिश्वास गर्ने मान्छे हौं, कामप्रति हाम्रो लगाव छ ।’ प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताए । प्रदेशले स्थानीय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने उनले जानकारी दिए ।
विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पारे । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकांश खेतबारी बाँझो रहेको बताउँदै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उनको भनाई थियो । योजना बैंकमा नराखी बजेट विनियोजन नहुने बताउँदै आफ्ना योजनाहरु योजना बैंकमा राख्न सुझाव दिए ।
अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उनको भनाई थियो । उनले भने-‘ ६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.